|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँग भेट गरेको सिंहका प्रेस संयाेजक युपी लामिछानेले जानकारी दिए। 

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। प्रचण्डले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायम राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले  नेता सिंहलाई दूतको रूपमा खुमलटार पठाएका हुन्। 

नेता सिंहले सहमति गरेर दोस्रो कार्यकाल  प्रधानमन्त्री पद सम्हाल्न गरेको प्रस्तावलाई अस्वीकार गरेका छन्। 

‘उहाँ(सिंह)ले पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री बनाएर दोस्रो कार्यकाल सम्हाल्न आग्रह गरे पनि अध्यक्षज्यूले पहिलो कार्यकालमा प्रधानमन्त्री पाउनुपर्ने अडान लिनुभयो। सहमति गरेर अगाडि बढ्नुपर्ने उहाँको प्रस्तावमा अध्यक्षले पहिलो कार्यकाल नपाए विकल्प खोज्ने जवाफ दिनुभयो,’ प्रचण्ड निकट स्रोतले भन्यो। 

सभापति देउवालाई प्रधानमन्त्री दिन कांग्रेस नेताहरूले लबिइङ गरिरहेका छन्। तर, प्रचण्डले पहिलो  कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि गठबन्धनभित्र ‘पावर सेयरिङ’ मा कुरा मिल्न सकेको छैन। 

बिहीबार साँझ प्रधानमन्त्री देउवा, अध्यक्षद्वय प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.