|

विराटनगर : प्रदेश १ मा नेकपा एमालेले पुस १० गते संसदीय दलको नेता चयन गर्ने भएको छ। एमालेले दलको नेता चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाएको छ।

प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबार बस्ने बैठकबाट दलको नेता चयन हुने जानकारी दिए। उनले बैठकबाट नै दलको नेता सर्वसम्मत चयन हुने बताए। प्रदेश १ को सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एएमालेसँग प्रदेशसभामा ४० जना सांसद छन्।

प्रदेश १ प्रदेशसभामा नवनिर्वाचित सांसदहरूलाई शपथग्रहणका लागि  ११ गते आह्वान गरिएको छ। एमालेले शपथग्रहणअगाडि नै दलको नेता चयन गर्दा अन्य दलले दलको नेता चयन गर्ने सम्भावना न्यून देखिन्छ।

काँग्रेसको बैठक ११ गते

प्रदेश १ मा दोश्रो ठूलो दल नेपाली काँग्रेसले भने दलको ने चयन लगायतका विषयमा छलफल गर्न भन्दै ११ गते बैठक बोलाएको छ।

दलको नेता चयन लगायतका विषयमा छलफल गर्न भन्दै काँग्रेसले बैठक बोलाएको हो। काँग्रेसमा मुख्यमन्त्रीको अपेक्षासहित दलको नेतामा धेरै आकांक्षी देखिएकाले आपसी समझदारी र छलफलले सोही दिन दलको नेता चयन गर्ने सम्भावना न्यून देखिन्छ।

काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सदस्यसमेत रहेका उद्धव थापाले बैठकमा दलको नेता चयनको विषयमा छलफल हुने बताउँदै उनले चुनावी प्रक्रियाबारे निर्णय हुनसक्ने समेत जानकारी दिए। उनले १५ गतेसम्म दलको नेता चयन हुने जानकारी दिए। नेपाली काँग्रेसको प्रदेशसभामा २९ जना सांसद रहेका छन्।

माओवादी र अन्य दलले शपथपछि दलको नेता चयन गर्ने

शपथग्रहणपछि दलको बैठक बसेर सहमतिको आधारमा दलको नेता चयन गर्ने तयारी रहेको माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

प्रदेश १ मा तेश्रो ठूलो दल रहेको माओवादी केन्द्रको प्रदेशसभामा १३ जना सांसद रहेका छन्।

चौथो स्थानमा रहेको राप्रपाले दलको नेता शपथग्रहणपछि नै चयन गर्ने जनाएको छ। सरकार गठन प्रक्रिया शुरु भएपछि दलको नेता चयन गर्ने राप्रपाका नेता भक्ति सिटौलाले जानकारी दिए। दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी रहेको उनले बताए। प्रदेशसभामा राप्रपाका ६ जना सांसद रहेका छन्।

४ जना सांसद रहेको नेकपा एकीकृत समाजवादीले पनि शपथग्रहणपछि नै दलको नेता चयन गर्ने जनाएको छ। जनता समाजवादी पार्टीको भने प्रदेश १ मा एकजना मात्र सांसद रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.