|

काठमाडौँ : सरकारले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरेको जानकारी दिए।

काठमाडौँमा आज यो वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४.०५ सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोबाट बच्न  शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्याप्त हावा ओहोरदोहर हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ। शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीलाई बचाउनुपर्छ। 

यस्तै आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गराउन र धूमपान तथा मद्यपान नगर्न मन्त्रालयको आग्रह छ।

शीतलहर तथा चिसोमा मुटु रोग, हृदयघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखाला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार हुने, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन्। 

मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य सङ्ख्यामा सम्पर्क गर्न अनुरोध गर्दै  सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर नसुत्न समेत आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.