|

इलाम : इलाम नगरपालिकाले विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउन शुरु गरेको छ। ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए।

इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने योजना भएपनि पहिलो चरणमा १४ विद्यार्थी छनोट भएका छन् । निःशुल्क अध्ययन गर्न आवश्यक शुल्क नगरपालिकाले सिधै प्राविधिक शिक्षालयमा भुक्तानी गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्काले बताए।

निःशुल्क अध्ययन गर्न छनोट भएकामध्ये सिभिल इञ्जिनियरमा ४ जना, वन विज्ञानमा ३ जना, पशु विज्ञान १, फार्मेसीमा ४ जना र बालिविज्ञामा २ जना छन्। विद्यार्थीले नगरपालिकाको लगानीलाई सदुपयोग गर्नुपर्ने नगर उप–प्रमुख विष्णु दाहालले बताइन्। प्राविधिक शिक्षा निःशुल्क अध्ययनको काम इलामको साखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा हुँदै आएको छ। 

नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्ने १४ विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था पछि उनीहरूले कम्तीमा १ वर्ष नगरपालिकामा सेवा गर्नु पर्नेछ। विद्यार्थीलाई नगरले इलाम नगरपालिका १ मा रहेको रत्नकुमार बहुप्राविधिक शिक्षालयमा छात्रावृत्तिको व्यवस्था गरी यो सुविधा दिएको हो। 

नगरका १२ वटा वडाबाट दुई जनाका दरले २४ जना विद्यार्थीको कोटा रहे पनि १४ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। विद्यार्थीलाई निःशुल्क अध्ययनका लागि नगरले यो वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.