|

बागलुङ : नागरिकलाई सफा र स्वच्छ खानेपानी दिन भन्दै सरकारले बर्सेनी करोडौँ बजेट जिल्लामा पार्ने गरेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकमा पनि ९४ प्रतिशत नागरिकमा सहज खानेपानीको पहुँच पुगेको उल्लेख छ। 

यो वर्ष पनि बागलुङमा १३८ वटा खानेपानीका योजना छन्। यीमध्ये चरम खानेपानीको समस्या भको स्थानमा एउटा पनि पर्न नसकेको स्थानीयको गुनासो छ।
बागलुङका दुर्गम तथा सुगम मानिने गाउँमा अहिले पनि खानेपानीको चरम अभाव छ। यहाँका स्थानीयले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने अवस्था छ। कतै गाउँ नजिक मुहान नहुँदा त कतै मुहान भएर पनि सही व्यवस्थापन नहुँदा खानेपानीको अभाव छ। 

बागलुङ नगरपालिका–४ कुँडुले सुमग ठाउँमै पर्छ। तर यहाँ खानेपानीको समस्या उस्तै छ। स्थानीय शिवदत्त सापकोटाले गाउँमा मुहान प्रशस्त भए पनि बजेट नपर्दा खानेपानीको समस्या हुँदै आएको बताए। सापकोटाले यहाँभएको मुहानबाट अर्को गाउँमा पानी लगेर एक घर एक धारा निर्माण गरेको सुनाउँदै आफूहरु काकाकुल जस्तै हुनु परेको गुनासो गरे।

‘यो गाउँमा जनसंख्या पनि धेरै छ, खानेपानीको मुहान पनि प्रशस्त नै छन्, तर बजेट छैन, मुहान नै नभएका गाउँलेको घर–घरमा खानेपानीका धारा छन्’, उनी भन्छन्, ‘हामी कहाँ भएर पनि समस्या भोग्नु परेको छ, धेरै पटक माग गर्‍यौँ। गाउँमा एक घर एक धारा चाहियो भने र तर कुनै पनि निकायले सुनेन। अहिले एउटा धारोबाट १०/१२ घरकाले पानी पुर्‍याउनु पर्ने अवस्था छ।’

उनले कुँडुले फेदीमा ७५ घर परिवार रहेकोमा जम्मा १०÷११ वटा मात्रै धारो रहेको बताए। खानेपानीका लागि छिमेकीसँग समय समयमा झगडासमेत हुने गरेको सापकोटाको भनाइ छ। ‘हिउँदमा त झन् धेरै गाग्रीका लाइन हुन्छन्, एक गाग्री पानीका लागि पालो नपाउँदा झगडा हुन्छ, पाइप खोसाखोस हुन्छ’, सापकोटाले भने, ‘गाउँले मिलेर एक घर एक धारा बनाउन सक्ने अवस्था पनि छैन, सरकारले केही बजेट दिए, एकदुई वर्षमा सबैले सजिलोसँग पानी पाउने थिए।’

निसीखोला गाउँपालिका–२ की कली सुनारले अर्नाकोटमा दुई दशकदेखि नै खानेपानीको चरम अभाव रहेको गुनासो पोखिन्। सुनारले यहाँका करिब २२० घरले आकाशे पानी तथा कुवा, पोखरीको भर पर्नु परेको सुनाइन्। वर्षातको समयमा आकाशेपानी संकलन गरेर हिउँदको आधा समय गुजारा कटाउने गरेको उनको भनाइ छ।

‘बर्खामा घ्याम्पोमा संकलन गरेको पानी डेढ महिना पनि पुग्दैन, लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिन्छ, गाउँका धनीमानी मान्छे बसाइँसरेर पानी भएको ठाउँमा गए, यहाँ त अहिले गरिब दुःखी मात्रै छन्” सुनारले भनिन् – “धेरै ठाउँमा हारगुहार ग¥यौँ पानीका लागि तर सुनुवाइ भएन, हामी त बसाइँ सरेर अन्तै जान सक्ने अवस्था पनि छैन, यही दुःख पाएर बसेका छौँ।’

यहाँका अधिकांश स्थानीय पानी बोक्नको लागि दुई घण्टा हिँडेर बसुन्धरा, बाँसखोला र बराहथान जान बाध्य रहेको अर्का स्थानीय कुलबहादुर विकले बताए। विकले २० वर्ष अगाडिसम्म खानेपानीको राम्रो व्यवस्था भए पनि जनसंख्या बढ्दै गएपछि पानीको अभाव भएको सुनाउँछन्। 

‘हामी तन्नेरी हुँदा त घर नजिकै धारो थियो, तीनचार घरले उपयोग गर्थ्यौँ। लाइन बस्नु पर्दैनथ्यो। गाउँमा मान्छे पनि कम थिए, मुहानबाट पानी पर्याप्त आउँथ्यो। अहिले मुहान पनि सुके मान्छे थपिँदै गए, पानी हाहाकार हुँदै गयो’ विकले भने, ‘पानीको समस्या समाधानका लागि जिल्लामा पुग्यौँ, सरकारलाई दुःख बिसायौँ तर समस्या जस्ताको त्यस्तै छ।’ 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख ईश्वरीप्रसाद शर्माले योजनाका लागि सीमित बजेट आउने हुँदा समयमै सम्पन्न गर्न नसकेको बताए। शर्माले भने– ‘बागलुङ जिल्लामा अहिले पनि धेरै बहुवर्षे योजना छन्। तर पर्याप्त बजेट विनियोजन हुन सकेको छैन, करोडका योजना हुन्छन्, थोरै लाखमा बजेट आउँछ, त्यसले गर्दा समयमा योजना सम्पन्न हुन सकेका छैनन्, यस कारण उपभोक्ता समस्यामा परेका छन्।

उनका अनुसार यो वर्ष बागलुङमा प्रदेश सरकारबाट ९६ र संघीय सरकारबाट ४२ वटा योजना परेका छन्। यी योजनाका लागि कुल २६ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। शर्माले प्रदेश सरकारबाट १५ करोड ५२ लाख र संघीय सरकारबाट ११ करोड ४० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.