|

काठमाडौँ : किरात राई यायोक्खा र यसका भ्रातृ संगठनहरूले जनगणनामा भएको त्रुटि सच्याएर मात्रै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। यायोक्खा र जातिगत संस्थाहरूले सोमबार राष्ट्रिय तथ्यांक कार्यालयमै गएर सच्याउन ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले ‘किरात राई जातिको इतिहास, संस्कृति र भाषाको अध्ययन गरी सही तथ्यांक सार्वजनिक गर’ लगायत प्लाकार्ड लिएर तथ्यांक कार्यालयमा धर्नासमेत दिएका थिए। यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले सुझावसहितको ज्ञापनपत्र तथ्यांक कार्यालयका महानिर्देशक नेविनलाल श्रेष्ठलाई बुझाए।

अध्यक्ष राईले जनगणनामा भएको गल्ती सच्याउन पटक-पटक ध्यानाकर्षण गर्दा पनि माग सुनुवाइ नभएको बताए। उनले भने, ‘वाम्बुले राईलाई ‘याम्बुले’ बनाइएको छ। यस्ता धेरै गल्ती छन्। यी त्रुटि सच्याएर मात्र जनगणनाको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, अन्यथा हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।’ 

कार्यालयका महानिर्देशक श्रेष्ठले भएका गल्तीलाई विज्ञहरूको सल्लाह सुझावमा सच्याउने प्रतिबद्धता जनाए। उनले भने, ‘किरात राईहरूको जाति, भाषा, धर्ममा देखिएको समस्याबारे एउटा कार्यक्रम आयोजना गरी छलफल गरौँ। सम्बन्धित सरोकारवाला,विज्ञहरूलाई पनि आमन्त्रित गरौँ, छलफल गरेर तथ्यगत रूपमै समावेश गरेर मात्र जनगणनाको प्रतिवेदन सार्वजनिक गछौँ।’

तथ्यांक कार्यालयले आगामी बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्ने भनेको कार्यक्रम सरकार परिवर्तन भएका कारण स्थगित गरेकाे छ। 
कार्यालयले यसअघि राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन भने सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.