|

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा को को जाने भन्ने निर्णय गरिएको छ। सत्ता गठबन्धनको बैठक संसद् भवन नयाँबानेश्वरमा बसेको थियो।

बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका शीर्ष नेताहरू सहभागी थिए।

नेकपा एमाले लगायत सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन्। उनले आजै दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्। १६९ सांसदले प्रचण्डलाई समर्थन गरेका छन्।

राष्ट्रपति र सभामुखमा एमालेले आफ्नो दाबी गर्दै आएको छ। ​नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्। उनीहरूले पनि आज ४ बजे शपथ लिँदै छन्।

श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यसअघि नारायणकाजीलाई गृह मन्त्रालय दिने सहमति भए पनि लामिछानेले गृहमा दाबी नछोडेपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय लिन आग्रह गरेका थिए। 

जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जनाउँदै आएको छ। पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउतले भने आफू मन्त्री नहुने बताएका छन्। उनले उपाध्यक्ष अबदुल रजाक खान सरकार मन्त्री बन्ने जानकारी दिए।

जसपाले आफ्नो धारणा स्पष्ट पारिसकेको छैन। यद्यपि उक्त बैठकमा दलका नेता उपेन्द्र यादव सहभागी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी भने तत्काल सरकारमा नजाने भएको छ। दलका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा सरकारमा सहभागी नहुने तर सरकारलाई बाहिरैबाट सहयोग गर्ने जानकारी दिएका छन्। यसैगरी नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.