|

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

विभिन्न कामको सिलसिलामा वारिपारि गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। खोला भएर घाँस दाउरा गर्न र बस्तुभाउ चराउन जान पनि समस्या भएको उनीहरूको भनाइ छ।

स्थानीय बलमान गाहाले ​हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको गुनासो गरे। मोटरसाइकल लिएर वारपार गर्दा जोखिम रहेको स्थानीय अभियान थापाको भनाइ छ। 

खोलामा पुल निर्माण गर्न वर्षौँदेखि माग गरे पनि स्थानीय सरकारले वास्ता नगरेको सर्वसाधारणको गुनासो छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पुल निर्माणका लागि डीपीआर तयार गरी सडक विभागमा पठाएको बताए।

विभागसँग समन्वय गर्दै आएको भन्दै उनले केही महिनाभित्र पुल निर्माणको ठेक्काको प्रक्रियामा जाने दाबी गरे। यससँगै गाउँपालिकामा तीन वटा पक्की पुल निर्माणका लागि पहल गर्दै आएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.