|

धनुषा : संघीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेश प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ।

नयाँ सत्ता गठबन्धनअनुसार मधेश प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुंगो लागेको छैन। 

प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ। जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ । संघमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको भने प्रदेशमा प्रतिनिधित्व छैन।

मधेश प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी प्रदेश सभामा १०७ सदस्य छन्। सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। संघीय सरकारमा सहभागी राजनीतिक दलको मधेश प्रदेशमा ६२ सिट पुग्छ। यसरी हेर्दा मधेश प्रदेशमा सत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ।

यता स्वतन्त्रबाट पनि छ जनाले जितेका छन्। अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्ट अधिकांशले स्वतन्त्रबाट जितेका हुन्। सरकारमा उनीहरू पनि सहभागी हुने अनुमान गरिएको छ। प्रदेशमा २२ सिटसहित दोस्रो दलको रूपमा रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा जाने देखिएको छ। यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ र नेकपा (एकीकृत समाजवादी) ले सात सिट प्राप्त गरेका छन्।

संसदीय दलको नेताको आकांक्षी बढे 

प्रदेशसभा सचिवालयले यही पुस १५ गते शुक्रबार प्रदेशसभा सदस्यहरूको शपथ कार्यक्रम तय गरिसकेको छ। प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ। तर प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गर्न सकेका छैनन्।

एमालेका मधेश प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा नै प्रदेश सरकार नेतृत्वको टु‌गो लाग्ने जानकारी दिए। एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उनले बताए।

एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकांक्षी पनि थपिँदै गएका छन्। एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारु, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकांक्षी हुन्। 

त्यसैगरी जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आँकलन गरिएको छ। जसपामा पाँच वर्ष मुख्यमन्त्री रहेका लालबाबु राउत तथा सरोजकुमार यादव, मनिषकुमार सुमन र रामआशिष यादव दलको नेता बन्न आकांक्षी छन्। 

जनमतमा पनि सतीशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायत दलका नेताका लागि आकांक्षी देखिएका छन्। दलको नेता छान्न सकस देखिएपछि जिम्मेवारी पार्टी अध्यक्ष डा.सीके राउतलाई दिइएको छ।

यता प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न समिति गठन गरेको छ। कांग्रेसमा रामसरोज यादव, रामकृष्ण यादव र वीरेन्द्र सिंहलगायत आकांक्षी छन्। अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन्।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.