|

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्रीमा दाबी गरेको छ।

एमालेको नेतृत्वमा रहेको गठबन्धनलाई प्रदेशमा सरकार गठन गर्न निर्णायक रहेको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको हो। प्रदेश संरचना खारेजीको माग राख्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेसँगै बागमती प्रदेशको सरकार गठनमा नयाँ ट्विस्ट आएको छ।

प्रदेश संरचना आवश्यक नरहेको भन्दै राप्रपाले संघीयता नै खारेज गर्नुपर्ने माग गर्दै गर्दै आएको छ। बागमती प्रदेशसभाको पहिलो कार्यकालमा संसदको रोष्ट्रमबाटै पटक–पटक प्रदेश संरचना खारेजीको माग उठाउदै आएको राप्रपाले प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएपछि मुख्यमन्त्री दाबी गरेको छ।

 प्रदेश संरचना खारेजीको माग गर्दै आएको पार्टीले प्रदेश सरकारकै नेतृत्वमा दाबी गरेसँगै पार्टीको नीतिमाथी नै प्रश्न उठेको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले राप्रपाको हैसियत देखाउनको लागि सरकारको नेतृत्व गर्न आवश्यक रहेको बताए। उनले प्रदेश सरकारको नेतृत्व गर्दै यसबाट जनतालाई सुशासन दिने र पाँच वर्षमा संघीयता खारेज गर्ने दाबी गरे।

उनले मुख्यमन्त्री नपाए प्रदेशमा सरकार गठन गर्नको लागि अन्य दललाई आफूहरूको समर्थन नरहने समेत स्पष्ट पारे। ‘राप्रपा समर्थन मात्रै गरेर अरूलाई शक्तिको लाभ उठाउन दिँदैन। यदी अरू दलले राप्रपा पनि छ भनेर हाम्रो हैसियत देख्यो भने हामी मिलेर जान्छौ होइन भने हामी सरकार गठनमा सहभागी नै हुदैनौ’,थापाले भने।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ। बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता बागमती प्रदेशमा देखिएको छ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बागमतीमा सरकार गठनका लागि नयाँ विकल्पहरू देखिएका छन् । हालको अवस्था बागमती प्रदेशको सत्ताको साँचो राप्रपासँग रहेको छ। सांसद संख्याको आधारमा सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको हो।

बागमती प्रदेशमा नयाँ सत्ता गठबन्धनको स्पष्ट बहुमत छ। सत्ता गठबन्धन दलहरूमा एमाले २७, माओवादी केन्द्र २१ र राप्रपाको १३ सांसद छन्। उनीहरू बीच नै सत्ता साझेदारी हुँदा सहजै सरकार गठन हुन सक्छ। राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गरे पनि आफू सरकारमा गएको छैन।

सत्ता गठबन्धनले न्युनतम साझा कार्यक्रममा आफ्नो शर्तहरूलाई पनि समावेश गरेर केन्द्र सरकारमा सहभागी हुने राप्रपाको तयारी रहेको छ। केन्द्रमा राप्रपा सरकारमा सहभागी भए प्रदेशमा सरकारको नेतृत्वमा स्वभाविक रुपमा दाबी रहने दलको नेता थापा बताउँछन्।

‘हामि ४ वटा प्रदेशमा सरकार गठनको लागि निर्णायक शक्ती छौ। बागमती प्रदेशमा हाम्रो उपस्थिती बलियो भएकोले यहाँको नेतृत्व हामीले पाउनुपर्छ भन्ने हो’,उनले भने।

प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन्। अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसाग तालमेल गरे कांग्रेसको पनि सरकार बन्ने सम्भावना पनि बन्न सक्छ। कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ।

 कांग्रेसलाई राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा बागमतीमा नयाँ कोणबाट सरकार गठन हुन सक्छ। तर,हालसम्म बागमती प्रदेशमा सरकार गठनको लागि दलहरूले कुनै तयारी गरेका छैनन्।

 आ–आफ्नो पार्टीभित्र मुख्यमन्त्री दाबी गरिरहेको भएपनि केन्द्रमा हुने भागवण्डाअनुसार सरकार गठन प्रक्रिया अघि बढ्ने हुँदा यतिबेला दलहरूको केन्द्रको निर्णय कुरिरहेका छन्। केन्द्रमा बन्ने समीकरण अनुसार नै प्रदेशमा सरकार गठन हुनेछ। त्यसैले बागमती प्रदेशसभामा रहेको दलहरू पर्ख र हेरको अवस्थामा रहेका छन्।

एमालेबाट संसदीय दलको नेता चयन भएका जगनाथ थपलिया मुख्यमन्त्रीको एक मात्रै दावेदार हुन्। एमालेबाट मुख्यमन्त्रीमा दाबी गरेका अन्य ३ जना निर्वाचनमै पराजित भएपछि एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाएमा थपलिया सहजै मुख्यमन्त्री बन्नेछन्।

माओवादीले अझैसम्म पनि संसदीय दलको नेता टुंग्याउन सकेको छैन। माओवादीले शुक्रबार दलको नेता चयन गर्दैछ। सो पार्टीमा दलको नेता बन्दै मुख्यमन्त्री बन्न पाँच जना आकांक्षी छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठले दाबी गरिरहेका छन्। उनीहरू सबै मुख्यमन्त्रीको दावेदार हुन्।

तर, मुख्य दावेदारको रुपमा जमकट्टेल र पौडेल देखिएका छन्। पार्टी पोलिटब्युरो सदस्य जमकट्टेल र प्रदेश अध्यक्ष पौडेलले आ–आफ्नो दाबी छोडेका छैनन्। दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताइएको छ। दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था भएकाले नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। बागमतीमा माओवादीबाट प्रदेशसभामा कुल २१ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.