|

बैतडी : बैतडीमा शीतजन्य मनसुनबाट बच्न पूर्व तयारी थालिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतजन्य मनसुनबाट बच्न पूर्व तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएको हो।

बैठकले शीतजन्य मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै स्थानीय व्यवस्थापन समितिले तयारी अवस्थामा राख्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीहरूको मर्मत गरेर चुस्त दुरुस्त राख्ने निर्णय पनि बैठकले गरेको छ।

जिल्लामा शीतलहर शुरु भइसकेको अवस्था रहेको र हिउँदे वर्षासँगै हिमपात भई विपद्जन्य दुर्घटनाको सम्भावना रहने तथा हिमपातले सडक अवरुद्ध हुने हुँदा त्यसका लागि जेसिबी लगायतका मेसिन तयारी अवस्थामा राख्ने समेत निर्णय भएको छ।

विभिन्न मानवीय तथा प्राकृतिक कारणबाट हुन सक्ने जंगली डढेलो न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिले सचेत गराउने, स्थानीय आपत्‌कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने, पालिकामा उद्धार टोली गठन गर्ने निर्णय भएको छ।

जिल्ला आपत्‌कालीन सञ्चालन केन्द्रको स्तरोन्नति र थप पूर्वाधार निर्माणका लागि रेडक्रस बैतडीलाई अनुरोध र जिल्ला प्रशासन परिसरमा रहेको विपद् आश्रयस्थल स्तरोन्नतिका लागि सबै निकायलाई अपिल गर्ने निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

गत कात्तिक २४ गते गएको भूकम्पका कारण भएको क्षति वडा कार्यालयमार्फत विवरण संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने, कोभिड नियन्त्रणका लागि सबैलाई खोपको दायरामा ल्याउनेदेखि लिएर जनस्वास्थ्यका मापदण्ड पालनाका लागि अनुरोध गर्ने गराउने, जिल्लाभित्र वन्यजन्तु आक्रमणबाट घाइते भए वा ज्यान गए ३५ दिनभित्र आवश्यक कागजातसहित डिभिजन वन कार्यालयमा सिफारिस गर्ने पनि निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष सुरेश पन्थीको संयोजकत्वमा बसेको बैठकमा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षानिकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा जिल्लामा गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा भएका विपद्जन्य घटना तथा त्यसबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाको सम्बन्धमा समीक्षा समेत गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.