|

सल्यान : सल्यानमा यस वर्ष सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ। ३ वर्षदेखि सुन्तला उत्पादन निरन्तर ओरालो लागेको सल्यानमा यस वर्ष भने २० प्रतिशत वृद्धि भएको छ।

कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्ष ६ हजार ९८० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ८ हजार ३७६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।

असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनमा असर परे पनि सुन्तलाका लागि फाइदा हुँदा उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले जानकारी दिए।

उनले भने‚ ‘विगतमा सुन्तलामा रोग, कीरा, जलवायु परिवर्तनको असरलगायत कारणले सल्यानमा सुन्तलाको उत्पादन गर्दै आइरहेको थियो तर यस वर्ष भने गत वर्षभन्दा १ हजार ३९६ मेट्रिक टन बढी उत्पादन हुने अनुमान गरिएको छ।’ 

जिल्लाभरि किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन्। यसबाट प्रत्येक वर्ष २५ करोड रूपैयाँसम्म भित्रिँदै आएको छ। यो वर्ष किसानले २८ करोड रूपैयाँसम्म भित्र्याउने अनुमान छ।

उत्पादन बढेपछि गत वर्ष प्रतिकेजी ६०/६५ रूपैयाँ सुन्ता बिक्री गरेका किसानले यो वर्ष ५०/५५ रूपैयाँ प्रतिकेजी बिक्री गरिरहेका छन्। सल्यानमा उत्पादित सुन्तला काठमाडौं, नेपालगन्ज, बुटवल, दाङमात्र नभई भारतको सुनवल, लखनौसम्म पुग्ने गरेको छ।

जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.