|

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताए। अध्यक्ष तिमिल्सिनाले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरू पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए।

उनले नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलहरूका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताए।

‘सचिव, सहसचिवहरू पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ। उमेर कम भएको मान्छे ५८ मा उमेरहद बनाएर आफू त्यो स्थानमा हुन चाहनुहुन्छ, ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहनुहुन्छ। म त तपाईको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरूसँग जान्छन्। त्यसपछि के हुन्छ ?,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘हाम्रोमा व्यवहारिक अभ्यास यही नै छ। धेरै यसरी बिग्रिएको छ। हाम्रो परराष्ट्रनीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आएपनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ। तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरकफरक भए भने फरक फरक हुन्छ। यस्तो कुरामा नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्न जरूरी छ।’

उनले राष्ट्रियसभाले पठाएका ५ वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गरे।  उनले आगामी दिनमा मन्त्रिमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने बताए। 

अध्यक्ष तिमिल्सिनाले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरू अहिलेसम्म प्रतिनिधिसभाबाट पास हुन नसकेको भन्दै संसदले लापरबाही गरेर अघि बढे संसदप्रतिको विश्वास गुम्ने बताए। उनले सबै पदाधिकारीहरूले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.