‘मन्त्रालय र विभागमा कर्मचारी थुप्रो लाग्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यालय समयमा काम छोडेर अनावश्यक सभा सम्मेलनमा नजान निर्देशन दिएका छन्। 

सिंहदरबारमा मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभइ नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रम भए सम्बन्धित विषयको एक जना मात्रै सहभागी हुन आग्रह गरे। 

‘कार्यालय समयमा, कार्यालयको काम छोडेर अनावश्यक सभा सम्मेलन, गोष्ठी, सेमिनारमा, प्रशिक्षण दिने, जस्ता कार्यमा जान बन्द गर्नुहोस्। सहभागी नभइ नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा मन्त्रालयको सम्बन्धित विषयको एक जनामात्र सहभागी हुने, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्केपछि प्रतिवेदन लिने/दिने व्यवस्था मिलाउनुहोस्।’ प्रचण्डले भने,‘ कार्यालयको समय पालना र कर्मचारी उपस्थिति, सेवा प्रवाह र सेवाग्राहीप्रतिको व्यवहार लगायतका कार्यालय संचालन र व्यवस्थापनको अनुगमन र निरीक्षण गर्नुहोस्।’

उनले विना काम मन्त्रालय र विभागमा कर्मचारीको थुप्रो लाग्ने प्रवृत्तिको अन्त्य गर्न पनि निर्देशन दिए। 

‘मन्त्रालय र विभागमा काम विनाका कर्मचारीहरू थुप्रो लाग्ने तर जनतालाई आधारभूत सेवा दिने पालिका तहमा जनशक्तिको अभाव भई जनता सेवाबाट वञ्चित हुने अहिलेको अवस्थाको अन्त्य हुनैपर्छ।’ उनले भने, ‘प्रदेश तथा स्थानीय तहहरूमा करिब एक तिहाइ कर्मचारी दरबन्दी रिक्त रहेकाले जनशक्ति अभाव भई सेवा प्रवाह र विकास निर्माणमा असर परेको हुँदा प्रदेश तथा स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थाको लागि संघीय सरकारी निकायका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा जनशक्ति आपूर्ति गर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनुहोस्।’ 

उनले संघीय निजामती ऐन आगामी संसदमा पेश गर्ने गरी तयारी गर्न पनि सचिवहरूलाई निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.