|

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म डिसेम्बर फल्सको शो मल्टिप्लेक्सले घटाउन थालेका छन्। आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्ममा दर्शकको संख्या न्यून भएपछि एक हप्ता नहुँदै शो घटाउन थालिएको हो।

बक्स अफिसमा सफल सावित हुने आशामा तीन वर्षपछि पर्दामा देखिएका आर्यनको फिल्मलाई लगानी सुरक्षित गर्न पनि गाह्रो देखिएको छ। 

डेढ दशकअघि किस्मतबाट नेपाली फिल्ममा प्रवेश गरेका आर्यनले हालसम्म तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। पहिलो फिल्मबाटै सफलताको स्वाद चाखेका आर्यनको समग्र फिल्मी करिअर भने उतारचढावपूर्ण रहेको छ।

टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेका आर्यनलाई पहिलो फिल्मबाटै चकलेटी हिरोका रूपमा चिनिन थालेको थियो। त्यसपछि प्रदर्शनमा आएको ‘मेरो एउटा साथी छ’ले बक्स अफिसमा उत्साहजनक कमाइ गर्दै फिल्म उद्योगमा उनको माग ह्वात्तै बढाएको थियो। उक्त फिल्ममा नम्रता र आर्यनको जोडीलाई धेरैले मन पराएका थिए। 

त्यसपछि पनि लगातार हिफाजत, फर्स्ट लभ, फर्केर हेर्दा जस्ता व्यावसायिक रूपमा सफल फिल्म दिएका आर्यनले बन्धी, धुवाँको नशा, कलिउड जस्ता फिल्मबाट फिल्म फ्लप हुँदाको अनुभव पनि लिएका थिए। नोभेम्बर रेन, लज्जा जस्ता फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै आर्यनको राम्रो पुनरागमनको संकेत गरेका थिए। 

एक समय फिल्म उद्योगको सबैभन्दा व्यस्त अभिनेता समेत रहेका आर्यनका सन् २०१४ मा मात्रै नोभेम्बर रेन, सपना, लज्जा, नाइके, माला, अलबिदा, पुनर्जन्म, आवेग, साथी लगायत आधा दर्जनभन्दा बढी फिल्म प्रदर्शनमा आएका थिए।

तीमध्ये अधिकांश फिल्म बक्स अफिसमा फ्लप सावित भएका थिए। आफ्ना फिल्ममार्फत लभर ब्वाइको इमेज बनाएका आर्यनले उक्त वर्ष लभ स्टोरी सहित एक्सन, थ्रिलर, कमेडी लगायतका फरक फरक जनराका फिल्म खेलेका थिए। 

आर्यनको पछिल्लो सुपरहिट फिल्म नाइँ नभन्नु ल ३ हो। यो बीचमा पनि अगाडि सुपरहिट फिल्ममा सहकार्य गरेको टिमसँगै सहकार्य गर्दा पनि कुनै फिल्म व्यावसायिक रूपमा हिट सवित हुन सकेनन्। मेरो एउटा साथी छ र नोभेम्बर रेनमा सुपरहिट बनेको नम्रता आर्यनको जोडीले क्लासिकमा पहिलेको जस्तो चमत्कार गर्न सकेन।

किस्मत र कसले चोर्‍यो मेरो मनमा दर्शकले मन पराएको रेखा र आर्यनको जोडी रहेको रुद्रप्रियाले पनि राम्रो प्रदर्शन गर्न सकेन। त्यस्तै ‘नाइँ नभन्नु ल’को टिमले नै बनाएको हजार जुनीसम्ममा पनि आर्यनको हिट फिल्मको पर्खाइ कायमै रह्यो। आर्यनको पछिल्लो फिल्म ‘चच हुई’ हो। जुन बक्स अफिसमा फ्लप सावित भएको थियो। 

डिसेम्बर फल्समा लभ स्टोरी सहित एक्सन, कमेडी जस्ता दर्शकले खोज्ने सबै तत्त्व भएको र फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्नेमा निर्माण टोली आशावादी थियो। फिल्मको प्रदर्शन भने सोचेअनुरूप भने भएन। 

डिसेम्बर फल्सले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसकेपछि आर्यनलाई अब सायराको आशा छ। बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा बन्ने फिल्मलाई नेपाली र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.