|
बाख्रालाई दाना दिँदै नारायणप्रसाद पन्त। तस्वीर : तिलाचन पाण्डे

गुल्मी : नौ वर्ष कतारको बसाइँपछि गुल्मीका एक युवाले गाउँमै आएर बाख्रा पालन गरेर मनग्गे आम्दानी गरेका छन्।

गुल्मीको छत्रकोट गापा– ३ का ३९ वर्षीय नारायणप्रसाद पन्तले अहिले जमुनापारी र खरी जातका  ३८ वटा बाख्रासँगै व्यावसायिक घाँसखेती गरेर वार्षिक १५ लाख जति आम्दानी गर्न थालेका छन्।

कतारमा नौ वर्ष वेटर काम गरेका पन्तले विदेशभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले नेपाल फर्किएर बाख्रापालनमा लागेका हुन्। शुरुमा १५ लाखको लगानी गरेर बाख्रा पाल्न थालेका पन्तले छत्रदेवी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी व्यावसायिक रूपमै घाँस खेती र बाख्रा पालन गरेका छन्।

विगत २ वर्ष अघिबाट १५ लाखको लगानी गरेका पन्तले अहिले फार्ममा ६५ लाखको लगानी गरेका छन्। आफू र श्रीमती दुवैजनाले नेपालमै काम गरेर वार्षिक १५ लाख आम्दानी गर्दा आफूहरू खुशी रहेको पन्तले बताए।

विदेशमा २५ लाख कमाउनुभन्दा गाउँमै परिवारसँग बसेर १५ लाख कमाउँदा बढी खुशी मिलेको उनको भनाइ छ। पन्तले ऊर्जाशील समय विदेशमा खर्चिनु भन्दा  स्वदेशको माटोमै काम गरे सुन फलाउन सकिने भएकाले युवाहरूलाई स्वदेशमै व्यावसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गरे।

श्रीमान् विदेश र श्रीमती नेपालमा रहनुभन्दा नेपालमै सँगै बसेर कृषि कर्म गर्न पाउँदा आफू सन्तुष्ट रहेको पन्तकी पत्नी ३७ वर्षीया पार्वती थापा पन्तले बताइन्।

सुखदुःख जस्तो भए पनि गाउँकै माटोमा उत्पादन गरी सँगै बस्नु र वार्षिक १५ लाख आम्दानी गर्न पाउँदा आफू खुसी रहेको उनको भनाइ छ। पन्त दम्पतीका १४ वर्षीय छोरा र १० वर्षकी छोरी छन्।

फार्मको नाममा गाउँपालिकाबाट दुई लाख, कृषि ज्ञानकेन्द्रबाट एक लाख र भेटेरिनरी कार्यालय गुल्मीबाट एक लाख अनुदान पाएका छन्।

पन्त दम्पतीले केन्द्र, प्रदेश र स्थानीय सरकारले बोयर जातका बाख्रा र काम गर्नेलाई तालिमसँगै अनुदानको व्यवस्था गरिदिए अझै राम्रो हुने उनीहरूको भनाइ छ।

यता कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले काम गर्ने कृषकहरूको साथमा आफूहरू सधैँ रहेको बताए। गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले युवाहरूलाई स्वदेशमै कृषि र पशुपालनका माध्यमबाट राम्रो आम्दानी गर्ने गरी दीर्घकालीन रूपमा टिकाइराख्ने गरी योजना बनाएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.