|

केही दिनअघि भारतको अहमदावाद सहरमा रहेको एक सिनेमा घरमा झण्डै दुई सय जनाको भिडले ठूलो तोडफोड भयो।

बजरंग दल नामक उक्त समूहको टार्गेट प्रदर्शनको तयारीमा रहेको पठानको पोस्टर थियो। घाँटीमा केशरी रंगको कपडा बेरेका उनीहरूले बोइकट पठानको नारा पनि लगाइरहेका थिए। साथै उक्त सिनेमा घरमा पठान फिल्म प्रदर्शन नगर्न धम्की पनि दिएका थिए। पछिल्ला दिनहरूमा यस्ता घटना भारतका विभिन्न सहरमा देखिएको छ। 

सन २०१८ को डिसेम्बर २१ मा शाहरुख खानको फिल्म जिरो प्रदर्शनमा आएको थियो। दुई सय करोडको बजेट रहेको उक्त फिल्म बक्स अफिसमा लगानी पनि उठाउन सकेन। त्यसपछि शाहरुखले आफ्नो करिअरकै सबैभन्दा लामो विश्राम लिए। उनको कुनै पनि फिल्म प्रदर्शनमा नआएको गत डिसेम्बरमा चार वर्ष पूरा भएको छ। जनावरी २५ देखि उनको कमब्याक फिल्म पठान प्रदर्शनमा आउने तयारीमा छ। 

जिरो मात्र होइन सन २०१५ मा आएको दिलवालेपछि प्रदर्शनमा आएका उनका कुनै पनि फिल्मले व्यवसायिक रुपमा अपेक्षित प्रदर्शन गर्न सकिरहेका थिएनन्। झण्डै तीन दशकदेखि लगातार काम गरिरहेका शाहरुखले करिअरमा एउटा विश्राम आवश्यक महशुश गरे र केही वर्ष कुनै पनि फिल्म साइन गरेनन्।

शाहरुखलाई भारतको मात्र नभएर ग्लोबल सेलिब्रेटीको रुपमा लिइन्छ। जसकारण उनको फिल्मको पर्खाइमा लाखौँ दर्शक थिए। दुई वर्षअघि उनले पठानमा साइन गर्दा उनका फ्यानहरू निकै खुशी भए। कोरोना र लकडाउनका कारण फिल्मको निर्माण काममा ढिलाइ भएपछि पठानको प्रदर्शन मिति पनि पछि सरिरहेको थियो। अन्ततः फिल्मको पहिलो पोस्टरले दर्शकमा अर्को उत्साह थपेको थियो।

शाहरुखको जस्तै उनका समकालिन स्टार अभिनेता आमिर खानले पनि ठग्स अफ हिन्दुस्तानको असफलतापछि चार वर्ष लामो विश्राम लिएका थिए। बक्स अफिसमा नयाँ नयाँ किर्तिमान बनाउने अभिनेताको रुपमा चिनिने आमिरको फिल्म लाल सिंह चड्ढा गत अगस्तमा प्रदर्शनमा आयो। तर, फिल्मको प्रदर्शन भने अनपेक्षित रह्यो। 

१ सय ८० करोड लगानी रहेको उक्त फिल्मले बक्स अफिसमा बजेट समेत सुरक्षित गर्न सकेन। समीक्षात्मक रुपमा खासै कमजोरी ननिकालिएको फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्न नसक्नुको एउटा कारण बोइकट ट्रेण्डलाई पनि मानियो। यसरी आमिरको चार वर्षपछिको कमब्याक सुखद हुन सकेन।

यति वेला भारतमा शाहरुखको फिल्म पठानको बोइकट ट्रेण्ड चलिरहेको छ। फिल्मको पोस्टर र पहिलो टिजर सार्वजनिक हुने वेलासम्म नसुनिएको बोइकटको नारा बेशरम गीत प्रदर्शनमा आएपछि सुरु भएको थियो।

उक्त गीतमा दीपिकाले लगाएको रंग हिन्दु धर्मसँग जोडिएको र गीत तथा नृत्यले हिन्दु धर्मलाई अपमान गरेको आरोप विरोधीहरूले लगाएका थिए। फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा बोइकटको नारा अझ चर्को हुँदै गएको छ। फिल्मबाट उक्त विवादित दृश्य भने हटाइसकिएको छ।

शाहरुखको कमब्याक फिल्म पठानको लगानी २ सय ५० करोड बताइएको छ। पछिल्लो समय ठूला लगानीमा बनेका धेरै फिल्म असफल भइरहेको अवस्थामा बोइकट ट्रेण्डले गर्दा निर्माण टोली तनावमा छ। यद्यपी फिल्मको नाम र प्रदर्शन मितिलाई लिएर भने आफूहरू अडिग रहेको निर्देशकले सामाजिकले जनाएका छन्। फिल्ममा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको छ। 

फौजी नामक टेलिशृङ्खलाबाट अभिनय करिअर सुरु गरेका शाहरुखका बाजिगर, बादशाह, स्वदेश, देवदास लगायतका दर्जन बढी सफल फिल्म छन्। चार वर्षपछि कमब्याक गरेका उनको यो वर्ष भने पठानसहित जवान र डंकी गरी तीन फिल्म प्रदर्शनको तयारीमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.