|

काठमाडौं : कात्तिकको छेको पारेर प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुषले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो। हलमा ५१ दिन मनाउन सफल उक्त फिल्मले १० करोडभन्दा बढी कमाएको थियो। त्यसयता भने कुनै पनि नेपाली फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

गत हप्ता प्रदर्शनमा आएको आर्यन सिग्देल र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म डिसेम्बर फल्स हलमा दुई हप्ता टिक्न मुश्किल देखिएको छ। त्यसैगरी गत शुक्रबारदेखि प्रदर्शनमा आएको हरर फिल्म चि मुसी चीमा पनि दर्शकको उपस्थिति निकै न्यून देखिएको छ। मिह्ना जेम्स र यश सैनीको निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, आयुष्मान देशराज जोशी लगायतका कलाकारको मुख्य भूमिका छ।

पहिलाे दिनकाे तुलनामा शनिबार दर्शककाे संख्यामा सामान्य सुधार देखिएकाे छ। ​याे शनिबार नेपाली फिल्ममा मात्रै नभएर सबैभन्दा बढी शाेका साथ प्रदर्शन भइरहेकाे हलिउड फिल्म अवतार: द वे अफ वाटरमा पनि दर्शककाे संख्या न्यून रहेकाे छ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष धेरै फिल्मले व्यावसायिक रूपमा राम्रो प्रदर्शन गरे। नयाँ वर्षको अवसरमा प्रदर्शन भएको ए मेरो हजुर ४ पछि कबड्डी ४, झिँगेदाउ, प्रेम गीत ३, के घर के डेरा, दुई नम्बरी र पछिल्लो महापुरुष यस वर्ष बक्स अफिसमा नाफा कमाउन सफल फिल्म हुन्। तिहारपछि प्रदर्शनमा आएका लाखे, पासो, डेसान लगायतका फिल्मले भने हलमा एक हप्ता टिक्न पनि संघर्ष गर्नुपरेको थियो। 

आगामी हप्ता गुञ्जन र तिम्रो मेरो साथ नामक फिल्म एकसाथ प्रदर्शनमा आउँदै छन्। नरेश एमके पौडेलको निर्देशनमा रहेको तिम्रो मेरो साथ र अष्टमान महर्जनको निर्देशनमा बनेको गुञ्जन दुवै प्रेम कथामा आधारित फिल्म हुन्। तिम्रो मेरो साथमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ भने गुञ्जनमा सारा सिरपाली, सरोज खनाल, प्रितमराज सेन्चुरी लगायतका कलाकारको मुख्य भूमिका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.