|

काठमाडौं : नेकपा माओवादी केन्द्रले बृहत वाम एकताको लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले वाम एकताको पहलका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वार्ता टोलीमा महारासँगै महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन्। वाम लोकतान्त्रिक गठबन्धन भत्काएर एमालेलगायत दलको समर्थम माओवादी नेतृत्वको सरकार गठन भएसँगै बृहत वाम एकताको आवाज उठ्न थालेको छ।

यसै सन्दर्भमा नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष बाबुराम भट्टराईले शनिबारै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन्।

पार्टी एकताको विषयमा उनीहरुबीच छलफल भएको जानकारी दिइएको छ । एमालेबाट फुटेर अलग भएको एकीकृत समाजवादीले समेत वाम एकताको पहलका लागि सचिवालयलाई जिम्मा दिएको छ। 

यस्तै वाम एकताका लागि भन्दै नेकपा एकीकृत समाजवादीले पनि चार सदस्यीय कार्यदल गठन गरेको छ। गत बिहीबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको हो। 

कार्यदलमा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल सदस्य छन् । कार्यदलले वामपन्थी दलहरुसँग सहकार्य र एकताबारे छलफल गर्ने बताइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.