काठमाडौँ : यतिखेर बाँके जिल्लामा दादुरा संक्रमण फैलिएको छ। पछिल्लो विवरणअनुसार हालसम्म ३६ जनाभन्दा बढी बालबालिकामा दादुरा संक्रमण देखिइसकेको छ। दादुरा संक्रामक रोग हो जुन मिजल्स भाइरसबाट हुने गर्दछ।
यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्छ। आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमताले शिशुहरूलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँछ। दादुरा भाइरसले शरीरको बाहिरी छाला र भित्री पत्रमा संक्रमण गर्छ‚ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका जीवाणु (भाइरस) ले दादुरा लागेका वेला शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ। यसले गर्दा बच्चामा अरू संक्रामक रोग हुने सम्भावना बढाउँछ।
दादुराका खतराका लक्षणहरू के के हुन्?
उच्च ज्वरो आउनु
नाकबाट सिँगान बग्नु
आँखा रातो हुनु र आँखाबाट पानी बग्नु
खोकी लाग्नु
शरीरमा राता बिमिरा निस्कनु
यो रोग लागेमा बच्चाहरूमा कानको संक्रमण, आँखाको दृष्टि कमजोर हुने, निमोनिया, इन्सेफ्लाइटिस (मस्तिष्कको संक्रमण), साथै पखाला, कुपोषण भई मृत्यु समेत हुने सम्भावना हुन्छ।
त्यसैले दादुराका चिह्न वा लक्षणहरू देखिए बच्चाहरूलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ।
कस्ता बच्चाहरूलाई दादुरा लाग्न सक्छ ?
कम तौल भएका बालबालिका
कुपोषण भएका बालबालिका
खोप नपाएका बालबालिका
व्यक्तिगत तथा सरसफाइ कमी भएका
भिटामिन “ए'को कमी भएका बालबालिका
रोग फैलाउनमा दूषित वातावरण, कुपोषण तथा घना बस्तीले पनि सहायक भूमिका खेल्छ।
दादुराको रोकथाम तथा उपचार कसरी गर्ने ?
हाछ्यूँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने ।
व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने। हाछ्युूँ गरेपछि साबुन पानीले मिचिमिची हात धुने।
बच्चालाई भीडभाड भएका सार्वजनिक ठाउँमा नलैजाने र नपठाउने।
सकेसम्म घरभित्रै राख्ने । बस्ने कोठामा हावाको आवतजावत हुने र घाम आउने गरी खुला राख्ने।
बच्चाको वरिपरि धुम्रपान नगर्ने र अरूलाई पनि गर्न नदिने।
राष्ट्रिय खोप तालिकाअनुसार दादुराविरुद्ध बच्चालाई ९ महिना र १५ महिनामा गरी दुईपटक खोप लगाउने।
रोग लागेको अवस्थामा साविकको भन्दा बढी पोषिलो खाना खुवाउने।
दादुरा लाग्दा प्रतिरक्षा प्रणाली बढाउन भिटामिन 'ए' क्याप्सुल स्वास्थ्यकर्मीको सल्लाह अनुसार खुवाउने।
स्रोत :स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
तपाईंको ईमेल गोप्य राखिनेछ ।