ज्यानसम्बन्धी कसुरमा उजुरीपछि दुईजना पक्राउ

|

काठमाडौं : गत शुक्रबार सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको पेट दुख्यो। सिरहा नगरपालिका–११ भलुवाहीकी उनले दुखाइ खप्न नसकेपछि औषधी खान पानी मागिन्। शिक्षिका अम्बिका लम्सालले पानी भन्दै बोतल दिइन्।

उनले औषधीसँगै उक्त बोतलमा रहेको तरल पदार्थ पानी भनेर खाइन् तर परेछ स्प्रिट। सिर्जना बेहोस भइन्। तत्कालै सिर्जनालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगियो तर उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो। यतिखेर उनका परिवार शोकमा छन्।

शिक्षिकाको लापरबाहीले सिर्जनाको ज्यान गएको भन्दै आफन्त, स्थानीय तथा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दा आइतबार मिर्चैया बजार तनावग्रस्त बन्यो। मिर्चैयामा राजमार्ग बन्द गरेर उनीहरूले प्रदर्शन गरेका थिए। आन्दोलनमा उत्रेका विद्यार्थीहरूले स्कुल पनि तोडफोड गरे। 

प्रहरी कार्यालयमा समेत उनीहरूले आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र २२ सेल अश्रुग्यास प्रहार गर्नुपरेको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। स्थानीय र प्रहरीबीच झडप हुँदा ८ जना सुरक्षाकर्मीहरू घाइते भएको उनको भनाइ छ। 

पानी ठानेर दिँदा पर्‍यो स्प्रिट!

सिरहाका प्रहरी नायव उपरीक्षक बुढाथोकीले ती शिक्षिकाले पानी ठानेर दिँदा स्प्रिट परेको बताएको जानकारी दिए। ‘माउण्टेन ड्यूको बोतलमा रहेको स्प्रिटलाई पानी ठानेर दिएछन्, महराले पानी ठानेरै स्प्रिट खाएपछि बेहोस् भएकी थिइन्,’ उनले भने।

विद्यालयले उक्त स्प्रिट केका लागि ल्याएको र किन सुरक्षित नराखेको भन्ने अझै खुलेको छैन। उनले अहिले स्थिति सामान्य अवस्थामा आइसकेको जानकारी दिए। ‘अहिले ठीकै अवस्था छ, कुनै प्रदर्शन भएको छैन,’ उनले भने।

ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्तापछि दुईजना पक्राउ

सिर्जनाको ज्यान गएपछि ती शिक्षिकाविरूद्ध ज्यानसम्बन्धी कसुरमा आइतबार नै आफन्तहरूले उजुरी दिएपछि प्रहरीले एक शिक्षक र एक शिक्षिका गरि दुईजनालाई पक्राउ गरेको छ।

सगरमाथा माध्यमिक विद्यालयका प्रधानाध्यापक र एक शिक्षिका पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक बुढाथोकीले थाहाखबरलाई जानकारी दिए। ‘नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको छ, उनीहरूको नाम र अन्य कुराहरू अहिले नै खुलाउन मिल्दैन। कसुर पुष्टि भए कानुनअनुसार कारवाही हुन्छ,’ उनले भने। 

शिक्षक महासंघ भन्छ : हामी पनि सत्य तथ्य बुझ्छौँ

कहिले विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको त कहिले विभिन्न शारीरिक तथा मानसिक यातना दिने गरेको आरोप वेला वेलामा शिक्षकहरूले खेप्दै आएका छन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आइतबार भएको घटनाको सत्य तथ्य बुझेर महासंघले धारणा व्यक्त गर्ने बताए।

‘हिजो घटेको घटना दुःखदायी छ, उहाँप्रति समवेदना प्रकट गर्दछौँ,’ उनले भने, ‘हाम्रो महासंघको त्यहाँ युनिट शाखा छ, उहाँहरूले पनि खास कसरी यो घटना घट्यो भन्नेबारे अनुसन्धान गर्नेछन्। सत्य तथ्य आएपछि महासंघले थप धारणा सार्वजनिक गर्नेछ।’

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले स्कुल र र स्प्रिट दिने शिक्षिकालाई कारवाही गरिने बताए। उनले भने, ‘उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.