|

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। 

महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई  विश्वासको मत दिने निर्णय गरेको हो।   पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। 

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जना सांसद छन्।  लोसपाले पनि सरकारलाई विश्वासको मत दिने निर्णयगरेसँगै प्रधानमन्त्री दाहाललाई झण्डै दुई तिहाइ मत मिल्ने देखिएको छ। 

दाहालले प्रधानमन्त्रीमा दाबी पेस गर्दा सहभागी नभएको एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ। प्रधानमन्त्री दाहालले १६९ जना सांसद्‌को समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसदले प्रचण्डलाई समर्थन गरेका थिए। 

यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह र अमरेशकुमार सिंहले पनि विश्वासको मत दिँदै छन्।   १० सिट रहेको एकीकृत समाजवादी र ४ सिट रहेको लोसपाले विश्वासको मत दिने भएपछि सरकारको पक्षमा दुईतिहाइ पुग्छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८३ सदस्य (सांसद) चाहिन्छन्।

विश्वसको मत बारे निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादनको बैठक बोलाएको छ। त्यस लगत्तै संसदीय दलको बैठक बसेर कांग्रेसले निर्णय गर्नेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.