|

काठमाडौं : बहुप्रतीक्षित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ। जनवरी २५ देखि प्रदर्शनमा आउने शाहरुख खानको कमब्याक फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको जासुस एक्सन थ्रिलर फिल्ममा शाहरुखबाहेक दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको छ। पछिल्लो वर्ष राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएका अधिकांश फिल्म बक्स अफिसमा असफल सावित हुँदा बलिउडको लागि सबैभन्दा खराब वर्ष सावित भयो। यस्तोमा ‘​पठान’बाट फिल्म उद्योगले नै ठूलो आशा राखेको छ। 

सार्वजनिक ट्रेलरमा मुख्य कलाकार शाहरुख, जोन र दीपिकालाई बढी स्थान दिइएको छ। शाहरुखले एक जासुस आर्मीको भूमिका निभाएका छन् भने जोन फिल्ममा खलपात्रको रुपमा देखिनेछन्। गत वर्ष प्रदर्शनमा आएका जोनका ‘अट्याक’ र ‘एक भिलेन रिटर्न्स’ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। त्यस्तै दीपिकाको पनि ‘सर्कस’ र ठूलो बजेटमा बनेको ‘८३’ असफल सावित भएका थिए। 

फिल्मको कथाकारसमेत रहेका आनन्दको यो आठौँ फिल्म हो। शुरुवाती चरणमा ‘हम तुम’, ‘सलाम नमस्ते’, ‘तारा रम पम’ लगायतका रोमान्टिक कमेडी फिल्म निर्देशन गरेका उनी पछिल्लो समय एक्सन जनराका फिल्म बढी बनाइरहेका छन्। सन् २०१४ को ‘ब्याङ ब्याङ’ र सन् २०१९ को ‘वार’ पछि ‘पठान’ले पनि बक्स अफिसमा राम्रो मुनाफा कमाउने आशमा आनन्द रहेका छन्। अर्को वर्ष प्रदर्शनमा आउने गरी उनको ‘फाइटर’ नामक अर्को एक्सन फिल्मको काम भइरहेको छ। ​
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.