|

विराटनगर : प्रदेश १ मा प्रदेशसभाको  सभामुखका लागि कसैको दाबी नआएपछि  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन्।

प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दाबी परेन। त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन्। सभामुखको निर्वाचन पुस २८ गते हुनेछ।

  गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका छन्। ५० वर्षीय गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका मंगलबारै सार्वजनिक भएको थियो। तालिका अनुसार ३ बजेदेखि ५ बजेसम्मका लागि उम्मेद्वारी मनोनयनको समय दिइएको थियो। उक्त अवधिमा कुनै पनि उम्मेद्वारी नपरेको संसद सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिए।

को हुन् गौतम?

२०४६ सालको पञ्चायतविरोधी आन्दालेनबाट राजनीतिक यात्रा आरम्भ गरेको गौतम ओखलढुंगाको लिखु गाउँपालिका ९ मा जन्मेका हुन्।  गौतम बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाइ अध्यक्ष भएका थिए।   अध्ययनका सिलसिलामा काठमाण्डौ पुगेका उनी  आरआर  क्याम्पसमा अध्ययन गर्दै गर्दा  अखिलबाटै स्ववियुको राजनीति गरेका थिए।

विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी २०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा होमिएका थिए।  उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए। उनले राजनीतिक जीवन यात्रामा दुई वर्षसम्म जेल जीवन व्यतित गरे।  जेल जीवनमुक्त भएसँगै उनले  माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरेका थिए।

०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिवको कार्यभार सम्हालेका  उनी शान्ति प्रक्रियापछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए। उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा पनि लामो समय काम गरेका छन्।

२०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगालकै राजनीतिमा काम गर्न थाले। अध्यक्ष हुँदै अहिले उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन्। पार्टीगत राजनीतिमा मजदुर आन्दोलन हुँदै  योगदान गरेका उनको यो संसदीय यात्राका लागि पहिलो अनुभव हो।

त्यसो त उनको ०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेद्वार  पनि बनेका थिए। तर, त्यो समय भने  उनी सांसद बन्न पाएका थिएनन्।  ०७४ को निर्वाचनमा पनि संसदीय अभ्यासका लागि निर्वाचनमा जान नचाहेका  होइनन्। तर, पाएनन। अहिलेको निर्वाचनमा भने कांग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका मुख्य स्थानमा पुग्ने निश्चित भएको  छ।

राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यतालाई थप निरन्तरता दिन नपाएको  सुनाउँछन्।

निर्विरोध सभामुख हुने परिस्थिति निर्माण हुँदा आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको अनुभूति भएको उनी बताउँछन्।

 उनले प्रदेश १ को नामकरण गर्न छुटेको बताउँदै  समग्र प्रदेश १ को विकासको पनि पहलकदमी लिनुपर्नेमा जोड दिए। उनले  पक्ष–प्रतिपक्ष नभनीकन सबै प्रदेशसभाका सदस्यहरूलाई काम दिने सन्दर्भमा र भोलिका दिनमा प्रदेशसभालाई पूर्ण सफल बनाउन आफू सबै प्रयास गर्ने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.