|

पर्वत : नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि गण्डकी प्रदेश सभाको प्रतिपक्षमा बस्ने सांसदको सङ्ख्या २८ जना पुग्ने भएको छ।

यसअघि बिहीबार साँझ मात्रै नेकपा (एकीकृत समाजवादी) का सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मात्रै आफूले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर प्रतिपक्षमा रहने घोषणा गरेकोमा शुक्रबार कांग्रेसले पनि प्रतिपक्षमा नै रहने निर्णय गरेको हो। सङ्घमा कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि प्रदेशमा भने प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

संसदीय दलको शुक्रवार बिहान बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। पार्टी प्रदेश समिति महामन्त्री विष्णुप्रसाद लामिछानेका अनुसार पार्टी प्रदेश समिति पदाधिकारीको बैठकले प्रतिपक्षमा बस्ने भनेर गरेको निर्णयलाई शुक्रबारको संसदीय दलको बैठकले पनि अनुमोदन गरेको हो। मुख्यमन्त्री अधिकारीले भने आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई आह्वान गर्दै आइरहेका थिए।

नेकपा (एमाले) गण्डकी प्रदेशको संसदीय दलका नेता खगराज अधिकारीले शुक्रवार नै बस्न लागेको प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन्। उनी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३२ जना सांसदहरूले विश्वासको मत दिन लागेका छन्।

मुख्यमन्त्रीमा नियुक्त हुने बेलामा भने उनको साथमा ३३ जना सांसदहरू रहेका थिए। नियुक्तिको दिनमा मुख्यमन्त्री अधिकारीको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर सङ्कलनमा सहभागी भएका मनाङेले आफ्नो निर्णय परिवर्तन गर्दै विश्वासको मत दिन नसक्ने बताएपछि अधिकारीको पक्षमा ३२ जना सांसदहरू रहेका छन्।

गण्डकी प्रदेश सभामा ६० जना सदस्यहरू रहने व्यवस्था छ। यो अनुसार बहुमत बनाउनको लागि कम्तीमा ३१ जना सांसदहरू एकै कित्तामा उभिएको हुनुपर्छ। अधिकारीको पक्षमा आवश्यक परेको भन्दा एक जना मात्रै सदस्य बढी रहेका छन्। प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस प्रतिपक्षमा बस्ने निर्णय गरेपछि सरकारको पक्षमा र प्रतिपक्षमा रहने सांसदहरूको सङ्ख्या झन्डै बराबर हुने भएको छ।

शपथ लिए लगत्तै पुस २५ मा नै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार समेत गरिसकेका अधिकारीले मन्त्रिपरिषद्को थप विस्तार भने विश्वासको मत लिएपछि गर्ने तयारी गरिरहेका छन्। उनले मन्त्रिपरिषद् विस्तारको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.