|

चन्द्रौटा : थारू समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा माघीको रौनक सुरु भएको छ। थारू समुदायले माघीलाई विशेष पर्वको रुपमा मान्ने गर्दछन्।

माघीको अवसरमा जिल्लाका तीन ठाउँमा माघी खिचडी महोत्सव हुने भएको छ। थारू समुदायमा मुख्य पर्वको रूपमा मनाइने माघी पर्वमा  महोत्सव आयोजनाको तयारी अन्तीम चरणमा पुगेको छ। थारू कल्याणकारीणी सभा शिवराज नगर समितिको आयोजनामा हुने महोत्सव यही माघ २ र ३ गते शिवराज वडा नम्बर–१, करहियामा महोत्सव हुने भएको छ।

यस्तै बुद्धभूमि नगरपालिका–९, चौवन्नमा पुस ३० र माघ १ गते र बाणगंगा नगरपालिका वडा नम्बर–९, कपिल धाममा माघ २,३ र ४ गते माघी खिचडी महोत्सव लगाउने तयारी भइरहेको जनाइएको छ।

जिल्लाको तीनवटै पालिकाको महोत्सवमा थारू जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामाग्रीको प्रदर्शनी र थारू खानाका परिकार स्टल रहनेछन्। थारू जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनीसमेत गरिनेछ।

महोत्सव अवधिभर थारू संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुनेछन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक तथा आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने समितिका थाकस जिल्ला सभापति उमाशङ्कर थारुले बताउनुभयो ।‘हम्मन संस्कृति हम्मनके सान, पहिचान बचएना हम्मन अभियान’भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवले थारू जातिको पहिचान जोगाउने मद्दत पुग्ने नगर सभापति प्रकाश थारूले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.