|

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाको ६ नं. वडाले न्यानो कपडा वितरण गरेको छ।

चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र ज्येष्ठ नागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ नं. वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो।

आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन्।

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो भएकाले वडाले गरेको न्यानो वितरण कार्यक्रम महत्त्वपूर्ण भएको बताए।

उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि यो कार्यक्रमले केही सहयोग पुग्नेछ।’ जुम्लाको कठ्यांग्रिदो जाडोको समय, त्यसैमाथि बुढ्यौली उमेर र एकल महिला हरेक हिसाबले कमजोर हुन्छन्।

यो समय वृद्धवृद्धाका लागि अति सकसको समय हो। उनीहरूलाई यो समयमा जाडो छल्ने न्यानो ज्याकेट, टोपी गलबन्दी र महिलालाई स्वेटर दिइएको छ।

त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रमअन्तर्गत वडाध्यक्ष विशाल खड्काले आफ्नो वडाभरका एकल महिला र ज्येष्ठ नागरिकलाई न्यानो बनाउने उद्देश्यले कपडा वितरण गरिएको बताए। उनका अनुसार ६८ वर्षका ४३ जना, ६० देखि ६७ वर्षका ६० जना ज्येष्ठ नागरिक र २४ जना एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।

उनले भने, ‘केही एकल महिला र ज्येष्ठ नागरिक यहाँ आएका छैनन्। उनीहरूका लागि वडा कार्यालयसँग सम्पर्क गरी दिनेछ।’ यो वडाले १३४ जनालाई न्यानो कपडा गरेको छ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले यो समय चिसो छल्न दिइएको न्यानो कपडा अत्यावश्यक रहेको बताए। वडाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिए नागरिकलाई अपनत्व महसुस हुने बताए।

उनले थपे, ‘अपांगता भएका व्यक्ति र बालबालिकाका लागि पनि यस्ता कार्यक्रम गर्न जरुरी छ।’   

आयमूलक कार्यक्रम गर्न एकल महिलाको माग

तातोपानी ६की एकल महिला राजकली बिष्टले एकल महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो भएको बताइन्। उनले भनिन्, ‘हाम्रो जीविकोपार्जनमा सहजता ल्याउन सीपमूलक तालिम दिन आवश्यक छ। श्रीमानको मृत्यु भएपछि हामी एकल महिलालाई घरव्यवहार चलाउन गाह्रो छ।’

घरमा साना छोराछोरी छन् उनीहरूको पालनपोषण गर्न समस्या भएको उनको भनाइ छ।

त्यस्तै तातोपाती–६ वडाकै कला खड्काले सरकारले एकल महिलालाई दिने भत्ताले छोराछोरी पढाउन र दैनिकी चलाउन सकस हुने गरेको बताइन्। उनले सिलाइकटाइ, हाते होजीयारी जस्ता उद्यमी बनाउने खालका कार्यक्रम दिएको खण्डमा सहज हुने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.