|
प्रतीकात्मक स्केच

काठमाडौं : आगामी शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा लविकास शाखाले हालै यस्तो निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। 

मंगलबारको गोरखापत्रमा समाचार छ, प्रवेश परीक्षाको विकल्पमा विद्यार्थी भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन पनि केन्द्रले निर्देशन दिएको छ । कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि केन्द्रले रोक लगाएको छ।

कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।

केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले प्रवेश परीक्षा रोक्ने विषयमा तत्काल निर्देशनमात्रै दिइएको भए पनि केही समयपछि स्थानीय तहका प्रमुखसँग छलफल पनि गर्ने बताए।  ‘हुन त यो कानुनमै भएको विषय हो । कार्यान्वयन गर्नु भनेर हामीले भन्न नपर्ने हो तर जनसरोकारको विषय भएका कारण निर्देशन नै दिएर प्रवेश परीक्षामा कडाइ गर्न लगाएका हौँ’, शिशु विकास केन्द्रको अवधारणाअनुसार स्थापना भएका मन्टेश्वरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वांगीण विकास हुने क्रियाकलापमात्रै गराउनु पर्छ। तर यस्ता शैक्षिक संस्थाले बालबालिकालाई पढाउने, घोकाउने तथा कण्ठ गराउनेजस्ता क्रियाकलापमा जोड दिएको पाइन्छ । 

अहिले सहरका विभिन्न ठाउँमा कक्षा १ मा विद्यार्थीलाई प्रवेश परीक्षाका लागि भनेर महिनौँदेखि घोकाउने र कण्ठस्थ गराउनेजस्ता गतिविधि भइरहेका छन्।

यस्ता गतिविधिले बालबालिकाको सिर्जनात्मक र अन्तर्निहित प्रतिभामा हानि पुग्ने भनी सरोकारवाला र विज्ञबाट समेत गुनासो आउने गरेको थियो भन्दै केन्द्रका प्रवक्ता अधिकारीले भने, ‘मन्टेश्वरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वांगीण विकास हुने क्रियाकलापमात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.