|

कपिलवस्तु :शिवराज– १ करहियामा आयोजित खिचडी महोत्सवमा  आकर्षणको केन्द्र बने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी र नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु।

केसी र थारु दुवैलाई थारु पहिरनमा सजिाएर डोलाडोलीमा चढाएर परिक्रमा गराइयो। थारु समुदायमा दुलहा राख्ने डोला र दुलही राख्ने डोलीमा घुमाइएपछि उनीहरू मेलाको आकर्षण बनेका हुन्। मौलिक डोलाडोलीको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले यो क्रियाकलाप गरिएको हो। 

माघीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका १ करहियामा आयोजित दुइ दिने खिचडी महोत्सवमा थारु सामग्री प्रदर्शन सँगै विभिन्न थारु संस्कृति पनि प्रस्तुत गरियो। मेलामा थारु सामग्री किस्ती, मुरली दिलिया, डेहरी, चुली, सिकहर, ढकिया लगायत सामग्री राखिएको थियो। महोत्सवमा विभिन्न थारु परिकार पनि राखिएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले जातीय पहिचान जोगाउन युवा पुस्ता लाग्नुपर्ने बताए। थारु समुदायको एउटा फरक पहिचान रहेकाले विशेष महत्त्वका साथ हेर्ने बताए। ​शिवराज नगरपालिकाका प्रमुख अजय थापाले थारु समुदायको संरक्षणको लागि कुनै कसर बाँकी नराख्ने बताए। 

शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले थारु कला संस्कृतिको संरक्षणका लागि उमरीमा थारु सङ्ग्रहालय निर्माण भएको बताइन्। उनले माघी पर्वले एकताको भावना सिर्जना गर्ने जनाइन्। थारु कल्याणकारणी सभा शिवराज नगर समितिको आयोजनामा भएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति  दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.