|

काठमाडौं : मन्त्रिपरिषदको आज बसेको बैठकले उखुको न्यूनतम मूल्य तोकेको छ। बैठकले प्रतिक्वीटल उखुको मूल्य ५४० रूपैयाँ तोकेको हो। बैठकपछि अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारका निर्णयबारे जानकारी दिएका हुन्।

सरकारले उखु ढुवानीमा बेहोर्ने भाडा ७० रूपैयाँ निर्धारण गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए। उनले भने, ‘आजको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपैयाँ र सरकारले बेहोर्ने ढुवानी भाडा ७० रूपैयाँ निर्धारण गरेको छ।’

सरकारले विभूषणको स्पष्ट मापदण्ड तय गर्न समिति गठन गर्ने भएको छ। बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

‘क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको बैठकमा छलफल भएको छ र थप अध्ययन गरेर हामी उपयुक्त निर्णयमा छिट्टै पुग्नेछौं। त्यसैगरी कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि आजको बैठकले निर्णय गरेको छ‚’ मन्त्री पौडेलले भने‚ ‘सरकार गठनको महत्वपूर्ण नीतिगत आधार सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम मन्त्रिपरिषदले कार्यान्वयन गर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित विषयमा ७ दिनभित्र सबै मन्त्रालयले आवश्यक कार्ययोजना निर्माण गरी मन्त्रिपरिषदमा प्रस्तुत गर्नेछन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.