|

दाङ : घोराही-तुलसीपुर सडकखण्डमा २ वर्षदेखि बस चलाउँदै आएका विवेक कार्कीले सडकका कारण ज्यानकै जोखिम मोलेर बस चलाउनु परेको बताए। उनले आफू गाडी लाइनमा लागेको करिब १० वर्ष भए पनि २ वर्षदेखि घोराही-तुलसीपुर रुटमा बस चलाउँदै आएको बताए।

तत्कालीन २ लेनको सडक ४ लेन बनाउने भन्दै भत्काएपछि अहिले लथालिंग र भताभुंग रहेकाले धेरै सवारी दुर्घटना हुँदा १२ जनाभन्दा बढीले अकालमै ज्यान गुमाएका छन्।

आधा घण्टा लाग्ने यात्रा घन्टौँ लाग्ने र दुर्घटनाको जोखिम अत्यधिक छ।

उनले भने, ‘अहिले बाटोको कुरै नगरौँ‚ एकदमै जोखिमपूर्ण छ। ४ लेनको सडक बनाउने भनेर सडकको दायाँ बायाँ दुवै खनेको छ। पुरानो सडकमा पनि खाल्टाखुल्टी मात्र छन्। ६ वर्ष मजाले चल्ने गाडी यही सडकका कारण २ वर्ष पनि टिक्न गाह्रो छ। के गर्नु बाध्यताले चलाउनु परेको छ!’

उनले सडक चौडा पार्ने भनेर लामो समयदेखि भत्काएर बिगारेपछि दुर्घटनाको जोखिम बढेको बताए। ‘पहिला गाडी मर्मतमा मासिक २०/३० हजार खर्च हुन्थ्यो। अहिले लाखभन्दा कम लाग्दैन‚’ उनले भने।

तुलसीपुर-घोराही  हुँदै लमही सडकखण्डमा हिँड्ने यात्रुले निकै सास्ती भोग्दै आएका छन्।

उनले भने, ‘सडकको अवस्था यस्तो छ कि गाडी चलाउन मनै लाग्दैन तर के गर्नु काम गर्नु नै पर्‍यो। सडकको अवस्था नाजुक छ‚ यात्रा धेरै जोखिमपूर्ण छ। हिजोआज त बिहान हुस्सु लागेको हुन्छ। एकदमै सावधान भएर चलाउनु पर्छ।’

केही दिनयता तुलसीपुरको हात्तीखौवादेखि मजगैँयासम्म सडकका खाडल पुर्न थालेकाले निकै सहज भएको पनि उनले बताए।

बिजौरी-तुलसीपुरमा अटो चलाउँदै आएका खुशीराम चौधरीले पनि बिग्रेको सडकका कारण धेरै सास्ती भोग्नु परेको छ। बिग्रिएको र साँघुरो सडक हुँदा अटो चलाउन निकै कठिन भएको उनले बताए। उनले ६ वर्षदेखि अटो चलाउँदै आएका छन्।

उनले शनिबार दिउँसोसम्म तुलसीपुरको हात्तीखौवा-बिजौरी सडकका खाडल पुरिरहेको भन्दै त्यसपछि केही समय सहज हुने बताए। उनले राज्यले गर्नुपर्ने काम यहाँका युवाहरूले गरेको भन्दै खुशी व्यक्त गरे। उनले तुलसीपुरका युवा व्यवसायीले मजगैंयासम्म सडकका खाडल पुर्न लागेको भन्दै उनले खुशी जनाए।

खुशीरामले भने, ‘अहिले सडकका दुवै किनारामा गहिरा खाडल छन्। ठूला गाडी आए साइड दिनसमेत ठाउँ पुग्दैन। अब ती खाडल पुर्न लागेको हुँदा केही राहत मिल्ने भयो।’

तुलसीपुर-१९ बिजौराका श्रीकण्ठ पोखरेलले सडकका कारण नागरिकहरूले धेरै सास्ती भोगेको बताए। उनले युवाहरूले यसरी खाल्टा पुरेर केही दिनसम्म मात्र सहज हुने भएकाले राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

उनले निर्वाचनको समयमा यहाँ उम्मेदवार भएका नेताहरूले यही बाटोलाई मुद्दा बनाएको भए पनि अहिलेसम्म कुनै पनि काम नभएको गुनासो गरे।

तुलसीपुर-६ का गणेश खत्री तुलसीपुरदेखि घोराही दैनिक मोटरसाइकलमा आवतजावत गर्छन् तर सडकको अवस्थाका कारण धेरै सास्ती भोग्नु परेको उनले बताए। उनले सडक चौडा बनाउने भनेर लामो समयदेखि सडक भत्काएर काम नगरेपछि दुर्घटनाको जोखिम बढेको बताए।

आफ्नै खर्चमा सडक मर्मत गर्दै युवा व्यवसायीहरू

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही हुँदै लमही सडकखण्डअन्तर्गत कुइरेपानीसम्म सडक स्तरोन्नति गर्ने भन्दै सडक लथालिंग र भताभुंग पारेपछि यो सडकमा यात्रा गर्ने दैनिक यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य भएका छन्।

कुइरेपानीदेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक कतै ४ लेन र कतै २ लेनमा स्तरोन्नति गर्न सन् २०१९ जनवरी २८ मा शुरुमा सम्झौता भएको थियो। तर ३ पटक म्याद थप्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति जम्मा ९ प्रतिशतमात्रै छ।

३३ महिनामा काम सक्ने गरी परियोजनासँग सम्झौता भएको थियो।लामो समयदेखि सडकको अवस्था नाजुक भएपछि तुलसीपुरमा क्रियाशील युवा व्यवसायीहरूले  तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मत गर्न थालेका छन्।

उपमहानगरसँगको समन्वय र आफ्नै लगानीमा सडक किनारा एवम् बीचबीचमा परेका खाडलहरू बिहीबारदेखि पुर्न थालेका हुन्। तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर क्रियाशील युवा व्यवसायीले उपमहानगरका इन्जिनियर पवनकुमार योगीको नेतृत्वमा काम थालेका हुन्।

मर्मत थाल्नुअघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडल पुर्न पायक पर्ने खोलाबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए। खाडल पुर्न उपमहानगरले प्रारम्भिक वातावरणीय मूल्याङ्कन भइसकेका स्थानबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने शुरु गरेको इन्जिनियर पवनकुमार योगीले बताए।

उनले भने, ‘एकजनाले भन्दा यहाँका सबै युवा सक्रिय भएर अगाडि बढेर यो अभियान थालनी गरिएको हो। हाम्रो सानो सहयोग र प्रयासले जोखिमपूर्ण सडक मर्मत गर्दा यात्रु र गाडीहरूलाई सहज होस् भन्ने नै हो।’ यस्तै सडकमा रहेका खाल्टाखुल्टीले यात्रा असहज हुँदा दुर्घटनाको जोखिम बढिरहेको पनि उनले उल्लेख गरे।

योगीले भने, ‘यो सडकका कारण जोखिम मात्र बढेको नभएर दुर्घटनै भएका छन्‚ जसमा धेरैले ज्यान गुमाएका छन्। दुर्घटना हुँदा आर्थिक क्षति पनि भएको छ। धुलोका कारण वातावरणमा समेत असर परिरहेको छ। त्यो भएर हामीले तुलसीपुरको मजगैंयासम्म सडक मर्मत गर्नेछौँ।’

उनले युवा व्यवसायीहरूले आफूसँग भएका यान्त्रिक उपकरणहरू‚ इन्धन, पानी पनि सहयोग गरेर मर्मत अभियानलाई सघाएको बताए। उनले आफूहरूको यो अभियानले राज्यलाई पनि दबाब हुने बताए।

सडक मर्मतमा ग्राभेलसँगै आवश्यकताअनुसार माटो र पानी हालेर रोलरले दबाउँदै सडकका खाडल पुर्न थालिएको छ।

निर्माण कम्पनीले समयमा काम नगरी सडक भत्काएर अलपत्र पारिदिँदा सडकको कम्तिमा ७ मिटर कालोपत्रे अहिले छैन। सडकका दुवै किनारा स्तरोन्नति गर्ने भन्दै भत्काउँदा केही ठाउँमा सडक ३ मिटरमा खुम्चिएको छ।

४ लेन सडक निर्माणको जिम्मा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको हो तर उसले अहिलेसम्म पेटी ठेकेदार फेर्दै आएकाले पनि सडक निर्माणले तीव्रता पाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.