|

काठमाडौं : नेकपा एमालेका सांसद् रघुवीर महासेठले हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीको बचाउ गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले कोइरीमाथि हत्यारा शब्द प्रयोग गरेको भन्दै महासेठले आपत्ति जनाएका हुन्। 

'प्रहरी प्रशासनले किन समातेन भन्ने कुरा उठाउनुभयो। ‘सभामुख महोदय! कोइरी साँच्चिकै अपराधी नै हुन् त? यदि अपराधी नै हुन् भने निवर्तमान सरकारले प्रतिष्ठित पदक किन दियो। त्यो वेला उहाँहरुले हेर्नुभएन। सशस्त्रका असईको हत्या भएको सात वर्ष भयो। तत्कालीन सरकारले किन समातेन? उहाँलाई समात्ने त परै जावस् सम्मान गर्ने काम गरेको थियो’‚ सांसद महासेठले भने। 

उनले कोइरी पार्टीको सम्पर्कमा नरहेको उल्लेख गर्दै उनको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरे। सांसद महासेठले उनलाई समात्न र त्यसमा एमाले नेताबाट बाधा नआउने बताए। 

‘उहाँ हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न। प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्नुपर्‍यो‚ नभए कानुनअनुसार प्रहरीले कारबाही गरेको छ। त्यो क्रममा एमाले नेतामाथि आरोप लगाइएको छ। त्यसमा कुनै सत्यता छैन। कानुनअनुसार काम गर्नुहोस्। उहाँलाई समात्ने भए समाउनु एमाले नेताबाट बाधा आउनेछैन’‚ उनले भने।​

सांसद् महासेठले कोइरीलाई लक्ष्मी पूजासँग तुलना गर्दै शोषित पीडितहरूले उनको पूजा गर्ने गरेको बताए। 

‘लक्ष्मीपूजामा लक्ष्मीको पूजा गर्छौं त्यसरी नै शोषित पीडितको घरघरमा उहाँको सम्मान र पूजा हुन्छ। उहाँ नभएको भए यो वेला चुनाव जितेर आउन सजिलो थिएन। अहिले नै उहाँप्रतिको धारणा नबनाउऔँ’‚ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.