ललितपुर : नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अनन्त राज थापा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
एन्फा महासचिव किरण राईले एन्फा कम्प्लेक्स सातदोबाटोमा थापालाई मुख्य प्रशिक्षकको नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । अर्को महिना भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले पूर्व मिडफिल्डर अनन्तलाई महिला टिम हेर्ने जिम्मेवारी दिएको हो।
नेपाल पुलिस क्लबका मिडफिल्डर अनन्तले खेलीरहँदा पुलिस क्लब ४ पल्ट लिग च्याम्पियन भएको थियो। यसैगरी एन्फाले राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङलाई नियुक्त गरेको छ।
गोलकिपर प्रशिक्षकमा सुरज कुमार लामा नियुक्त हुँदा टिम म्यानेजरमा एन्फाले वृन्दा देवान नियुक्त गरेको छ। नेपाली महिला टोलीले भारतसँग उसैको घरेलु मैदानमा फेब्रुअरी १३ देखि २५ तारिखको बीचमा म्याच खेल्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।