सुर्खेत : उपल्लो डोल्पामा ३ वटा स्थानीय तह छन्। हिमाली क्षेत्र उपल्लो डोल्पा छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमानासमेत जोडिएको छ।
पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो। सडकको पहुँच नपुगेको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट घोडा, खच्चड र मानिस आफैँले पनि दैनिक उपभोग्य सामग्रीदेखि अन्य निर्माण सामग्री ढुवानी गरेर लैजानुपर्ने बाध्यता रहँदै आएको छ। ५ वर्षअघिसम्म मध्य डोल्पासम्म घोडा, खच्चडकै सहारामा ढुवानी हुने गर्थ्यो भने अहिले विस्तारै त्यो चलन दुनैसम्म पुगेको छ।
उपल्लो डोल्पामा पशुपालन गर्नुको मुख्य कारण ढुवानीको आधार तयार गर्नु पनि हो। अग्ला अग्ला हिमालहरूको बीचमा २७ वटा गाउँ उपल्लो डोल्पामा रहेका छन्। गुम्बा, प्राचीनकालमा निर्माण भएका विभिन्न धार्मिक मूर्ति तथा चालचलनदेखि रहनससहनसमेत उपल्लो डोल्पाको फरक रहेको छ।
गर्मी याममा समेत चिसो नै हुने हिमालको छेउमै रहेका साना साना होचा घरमा यहाँका बासिन्दाको जीवन चल्दै आएको छ। यिनै गाउँ र पालिकालाई जोडेर शे फोक्सुण्डो राष्ट्रिय निकुन्जसमेत रहेको छ। निकुन्ज सुरक्षाका लागि स्थापना गरिएको कार्यालयसमेत दुनैनजिकै सुलिगाडमा रहेका छन्।
द्वन्द्वकालमा सुरक्षाको कारण देखाउँदै सुलिगाड झरेको निकुन्ज कार्यालय अहिलेसम्म सुलिगाडमै रहेको छ। पल्लो डोल्पामा स्थापना भएका पालिकाहरू समेत नाममा मात्र भएका छन्।
भौतिक रुपमा यहाँका जनप्रतिनिधि छिटफुट बसे पनि कर्मचारी उपल्लो डोल्पामा बस्नु फलामको चिउरा चपाएझैँ हुँदै आएको सर्वसाधारणहरू बताउँदै आएका छन्। शे-फोक्सुण्डो गाउँपालिकामा अन्य दुई पालिकाभन्दा अलि फरक रहेको छ।
यहाँका जनप्रतिनिधिदेखि कर्मचारीहरू केही खटिने गरेको पाइएको छ। सेवा प्रवाहमा सबैभन्दा छार्का ताङसोङ गाउँपालिकामा कर्मचारीहरू स्थानीयवासीको सम्पर्कमा जान असमर्थ हुँदै आएका छन्।
त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अधिकांश समय सदरमुकाम दुनै, सुर्खेत र काठमाडौँमा समय बिताउने गरेको पालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए।
सेवाग्रहीले फोन गरे पनि नउठाउने अधिकृतको रुपमा यस पालिकाका अमरराज सेजुवाल रहेको पालिकाका अध्यक्षले नै आरोप लगाएका छन्।
‘पर्यटन, जलस्रोत, पशुपालन र जडिबुटी छार्का ताङसोङको आधार दीर्घकालीन दृष्टिकोण, सुशासन, गरिबी निवारण र रोजगार’ भन्ने नारा रहेको यो पालिकामा सरकारी सेवा पाउन सर्वसाधारणलाई सास्ती हुने गरेको छ।
दुई महिनाअघि काठमाडौँ गएका अधिकृत सेजुवाल र पालिकाका कर्मचारीहरू अहिलेसम्म पालिकामा पाइला नटेक्दा सेवा लिने सर्वसाधारणहरू हैरान भएका छन्।
यहाँको स्वास्थ्य सेवासमेत लथालिंग छ। दैनिक आम्चीकै भरमा यस पालिकाको उपचार सेवा सञ्चालन हुँदै आएको छ। कात्तिकदेखि फागुनको अन्तिमसम्म यस पालिकामा सबै खालका खोप सेवासमेत बन्द हुने गर्छन्।
पालिकामा दरबन्दी रहेका स्वास्थ्यकर्मीहरू सदरमुकाम दुनैमा नबसेर अन्य व्यक्तिगत काममा व्यस्त हुँदा यहाँका बासिन्दाले स्वास्थ्य सेवा पाउन नसकेका हुन्। सुरक्षित सुत्केरी तथा गर्भ जाँचको रेकर्ड हेर्ने हो भने यो पालिकाको तथ्यांक शून्य छ। भगवानको भरोसामा आम्चीको सहयोगमा सुत्केरी हुने गरेको वडा नम्बर ४ का स्थानीय पालेन बुढाले बताए।
जनप्रतिनिधिले कर्मचारीलाई स्वास्थ्य केन्द्रमा खटिन आग्रह गरे पनि कर्मचारीले नटेर्दा आफूहरू हैरान भएको पालिका अध्यक्ष सेनांङ गुरुङले दुखेसो गरे।
डोल्पोबुद्ध गाउँपालिकाको हालत पनि छार्का ताङसुङभन्दा काम छैन। यहाँका प्रमुख प्रशासकीय अधिकृतको मोबाइलसमेत सधैँ अफ रहन्छ। यदि फोन लागि हाले पनि उठ्दैन। यहाँको पनि सुरक्षित सुत्केरी दर र गर्भवती जाँचको तथ्यांक शून्य छ।
अधिकांश कर्मचारीले पालिकामा पाइलै नटेकी सदरमुकाम दुनैबाट तलब बुझ्ने गरेको जनप्रतिनिधिले नै बताउने गरेका छन्। अरु वेलासमेत सदरमुकाम बसेर उपल्लो डोल्पा बसेको कागज बनाइ एकमुस्ट हाजिरी गर्ने गरेका छन्।
अहिलेसम्म पुगेन चामल
सदरमुकाम दुनै र जुफालबाहेक अन्य ठाउँमा ठेकेदारले नै चामल बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल उपल्लो डोल्पामा अहिलेसम्म पुगेको छैन। सदरमुकाममा अहिले २ हजार ५०० क्विन्टल चामल मौजदात रहेको कार्यालय प्रमुख विष्णु घिमिरेले बताए।
तल्लो तथा मध्य डोल्पामा रहेका डिपो तथा बिक्री केन्द्रमा ठेकेदारले नै चामल बिक्री गरिरहेका छन्। त्यहाँ कर्मचारी नहुँदा ठेकेदार आफैँले चामल बिक्री गरिरहेको प्रमुख घिमिरेले बताए। उपल्लो डोल्पाका दुईवटा बिक्री केन्द्रमा चामल पठाउन नसकिएको जानकारी उनले दिए।
आयोडिनयुक्त सहुलियतको नुनको एक पोकोसमेत उपल्लो डोल्पामा पुगेको छैन। राज्यको सेवा सुविधा उपल्लो डोल्पावासीले पाउन नसकेको यो अर्को उदाहरण हो।
प्रहरीसमेत बस्दैन उपल्लो डोल्पामा
उपल्लो डोल्पामा प्रहरीसमेत अहिले दुनैमा बसेका छन्। चिसोको कारण देखाउँदै सदरमुकाम दुनैमा झारिएका प्रहरी उपल्लो डोल्पाको साटो सदरमुकाममा बसेका छन्। ७ ठाउँमा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएको हो। मंसिरमा झारिएका प्रहरी अब चैतमा मात्र उपल्लो डोल्पा पठाउने गरिन्छ।
सदरमुकामको सेवाबारे उपल्लो डोल्पा बेखबर
प्रदेश, संघीयदेखि स्थानीय तहका कर्मचारीसमेत दुनैमा बस्दा उपल्लो डोल्पाका ३ पालिकाका बासिन्दा सरकारी सेवाबारे अनभिज्ञ रहँदै आएका छन्।
‘पालिकामा कर्मचारी बसेर नियमितसेवा दिएमात्र सरकारी कामबारे जानकारी हुन्छ, यहाँ कोही बस्दैनन् कसरी थाहा हुन्छ?’‚ डोल्पोबुद्ध गाउँपालिकाकी प्रेमा गुरुङले भनिन्। अनुदानका कार्यक्रमसमेत पहुँचवालाले मात्र लिँदै आएका छन्।
रित्ता गुम्बामा आस्था जोगाउँदै डोल्पाली बौद्ध
स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य हो डोल्पा। त्यसो त डोल्पाको प्राकृतिक सुन्दरताले तानिएर बर्सेनि हजारौँ पर्यटक डोल्पा आउने गर्छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो ताल, धो भ्याली‚ से–गुम्बा, रिबु गुम्बालगायत ठाउँ मुख्य आकर्षण हुन्। त्यतिमात्र नभई त्यहाँको धर्म‚ संस्कृति,जीवनशैली पनि पर्यटकले निकै रुचाउने गर्छन्।
उपल्लो डोल्पाको यात्रामा बाटाघाटामा कलात्मक रूपबाट चिस्तुम,गुम्बाहरू देख्न पाइन्छ। बस्तीनजिक बौद्धधर्म झल्काउने कलात्मक प्रवशेद्वार हुन्छन्। गाउँमा केही दूरीको अन्तरमा गुम्बा तथा चिस्तुम देख्न पाइन्छ।
यस्ता गुम्बा, चिस्तुम र घरघरमा बेरिएका थाङ्काले आफ्नो घरपरिवार र गाउँठाउँको रक्षा गर्ने विश्वास गरिन्छ। जिल्लामै बौद्धमार्गीको मुख्य वासस्थान रहेको उपल्लो डोल्पामा र तल्लो डोल्पाका केही क्षेत्रमा देखिने यस्ता संरचना आस्थाका मुख्य धरोहर हुन्।
तर पछिल्लो समयमा तिनै धरोहर एकपछि अर्को गर्दै चोरी हुन थालेपछि स्थानीय चिन्तित छन्। उनीहरूलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचीन एवं ऐतिहासिक गुम्बा जोगाउन हम्मेहम्मे परेको छ। तल्लो डोल्पा र माथिल्लो डोल्पासम्म पर्ने विभिन्न प्राचीन मूर्ति एकपछि अर्को गर्दै शृंखलाबद्ध रूपमा चोरी हुन थालेपछि गुम्बा नै रित्तिन थालेका हुन् ।
५ वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, सेलरी सोम्दो, बोन, मिखिम, गाँकर गुम्बालगायत प्राचीन गुम्बाबाट २७ थान पुरातात्विक मूर्ति चोरी भएकोमा ४ थान मूर्ति मात्रै बरामद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
डिएसपी पाण्डेका अनुसार ०७२ मंसिर ८ महिना २७ गते से–फोक्सुन्डो उँपालिका ३ मा रहेको सेलरी सोम्दो गुम्बाट १३ वटा मूर्ति चोरी भएको र अझैसम्म फेला परेका छैनन्।
त्यसैगरी, डोल्पो बुद्ध गाउँपालिका वडा नम्बर ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत २८ गते राति ४ थान बुद्धका मूर्ति बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो।
पुरातात्विक मूर्तिहरूसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थ पनि हराएका थिए। हराएका ४ थान मूर्तिमध्ये ३ वटा र एउटा बौद्ध धर्मसम्बन्धी पुस्तक प्रहरी र स्थानीयको सक्रियतामा चोरी भएकै दिन बरामद गरिएको प्रहरीले जनाएको छ। एउटा मूर्ति अझै फेला पर्न सकेको छैन।
शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँको ६ सय वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट २०७५ सालमा हराएका ७ थान मूर्तिहरू अझै पत्ता लाग्न सकेको छैन।
‘तस्करहरूले गुम्बा मात्रै लुटेनन्, बौद्धमार्गीहरूको आस्था पनि लुटेका छन्। अहिले रित्ता गुम्बाहरूमा आस्था जोगाउनुपर्ने बाध्यता छ‚’ लामाले थपे।
नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुन्डो तालको छेउमै रहेको उक्त गुम्बा तालपछिको अर्को आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको थियो। ताल पुगेका पर्यटकहरू एकपटक गुम्बा पुगेरमात्र फर्किने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।