टर्की–सिरिया त्रासदीका ६ दर्दनाक कथा

|

टर्की र सिरियामा शक्तिशाली भूकम्पमा परी कम्तीमा आठ हजार व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मृत्यु हुनेको संख्या २० हजार सम्म पुग्न सक्ने बताएको छ। युनिसेफका अनुसार हजारौँ बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ।

यसैबीच सामाजिक सञ्जालमा थुप्रै पीडादायी कथा सार्वजनिक भइरहेका छन्। तीमध्ये केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

५ तले भवनमा फसेकी महिलाको सुत्केरी भएपछि मृत्यु

सिरियाको अलेप्पो शहरमा एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ। उद्धारकर्ताले भग्नावशेषको थुप्रोमुनि चित्कार गुञ्जिएको सुने। ५ तले भवनको भग्नावशेषमुनि एक आमाले छोरीलाई जन्म दिएको र त्यसपछि उनको मृत्यु भएको बताइएको छ।

उद्धार टोलीले बच्चा रोएको सुनेपछि जन्मेको करिब १० घण्टापछि उनलाई बाहिर निकालेको थियो। भग्नावशेषमुनि फेला परेकी बालिका अहिले आफ्नो परिवारको एक्लो सदस्य हुन् पुगेकी छिन्।

मृत बच्चालाई लिएर रुँदै बुबा

मंगलबारदेखि एउटा भिडियो भाइरल भइरहेको छ। सिरियाको जिन्दिसमा भएको उक्त घटनामा एक जना बुबा मृत बच्चालाई समातेर रोइरहेको देख्न सकिन्छ। ती नवजात शिशुको मृत्यु भएको बताइएको छ। बुबाले आफ्नो बच्चालाई कम्बलमा बाँधेर समातेका छन्। उनको आँसु रोकिएको छैन। उनी लगातार बच्चालाई चुम्बन गरिरहेका छन्।

घाइते बालकको सम्पूर्ण परिवारको मृत्यु

भूकम्पको तीव्रता रेक्टर स्केलमा मात्र नभई मानिसको जीवनमा समेत देखिएको छ। सिरियामा एउटा सानो बच्चाको पूरै परिवार समाप्त भएको छ। उद्धार टोलीले बच्चालाई सुरक्षित स्थानमा लगेको छ। भिडियोमा घाइते बच्चा बालुवामा सुतेको देख्न सकिन्छ। उनको हातमा एउटा पट्टी बाँधिएको छ। उनी केराको टुक्रा खाइरहेका छन्।

यो दृश्य कुन स्थानको हो भन्ने खुल्न सकेको छैन।

१७ घण्टासम्म पहिरोमा पुरिएका भाइबहिनी

सिरियामा एउटी बालिका आफ्नो कान्छो भाइसँग १७ घण्टासम्म भग्नावशेषमुनि पुरिएकी थिइन्। जब टोली उनको उद्धार गर्न आयो, उनले कुराकानीमा भनिन्, ‘अंकल, मलाई यहाँबाट निकाल्नुहोस्। म तपाईँको नोकर बन्नेछु।’

यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। दुवै बालबालिकाको उद्धार गरिएको छ र अहिले उनीहरू सकुशल छन्।

मृत छोरीको हात समातेर बाबु

टर्कीको कहरामनमारस शहरमा एक जना बुबा आफ्नी मृत छोरीको हात समातेर बसिरहेका छन्। पहिरोमा पुरिएर उनकी १५ वर्षीया छोरीको मृत्यु भएको हो। पहिलो भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी टर्कीको काहारनमारासको पजारसिक जिल्ला थियो।

बालिकाले सोध्छिन्, मेरी आमा कहाँ हुनुहुन्छ ?

टर्कीको हताय शहरमा पनि एउटा हृदयस्पर्शी घटना भएको छ। यहाँको उद्धार कार्यमा एक ७ वर्षीया बालिकालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो। बच्चा रोइरहेकी थिइन्।  उनलाई उद्धार गरेर बाहिर निकालियो। उनले उद्धार टोलीलाई सोधिन्– मेरी आमा कहाँ हुनुहुन्छ?

बालिकाको परिवार फेला परेको  खबर आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.