|

बागलुङ : जिल्लाका ग्रामीण क्षेत्र तथा बजार आसपासमा रहेका खेतीबारी उराठलाग्दा बनेका छन्। जौ, गहुँ र फापरले ढपक्क ढाकिने वेलाका खेतबारी लामो समयको खडेरीले गर्दा उराठिला बनेका हुन्।

अघिल्ला वर्ष यतिवेला खेत बारीमा लगाइएका गहुँ जौले बाला हाल्न सुरु गर्थ्यो। समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा व्यहोर्नु परेको थिएन। तर, यो वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निराश बनेका छन्। 

लामो समयदेखि खडेरी पर्दा पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका छन्। त्यसो त जिल्लामा गहुँ उत्पादन कम हुन्छ त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ। जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ। 

गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका–५ का इन्द्रबहादुर खत्रीले बताए। उनले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बिउसमेत उत्पादन नहुने चित्ना व्यक्त गरे। 

‘यतिका महिना बित्यो, पानी पर्दैन, बादल देखिँदा आश लाग्छ। आकाशतिर हेर्‍यो, पानी पर्ने छाँटकाँट देखिएन। खेतबारीमा लगाएको गहुँ सबै सुक्न थाले’, खत्रीले भने, उत्पादन होला जस्तो छैन, बर्खामा के खाने होला? बिउ पनि उत्पादन नहोला भन्ने चिन्ता छ।’

जिल्लाको गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा गहुँ राम्रो उत्पादन हुन्थ्यो। ढोरपाटन, तमान र ताराखोलामा जौ उत्पादन हुँदै आएको थियो। जैमिनीका कृष्णप्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिँचाइ गर्न नसक्दा सुक्दै गएको बताए। शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको सुनाए।

‘खेतमा त बरु अलिअलि खुलोबाट पानी ल्याएर लगाइयो। पाखाबारीमा लगाएको गहुँ सबै सुकेर मर्न थाले। पोहोरपरार साल त पानी पर्थ्यो। बाली राम्रै हुन्थ्यो। यसपालि खै धेरै समय भयो पानी परेकै छैन’, शर्माले भने, ‘पाटामा लगाएको गहुँमा पाइपबाट पानी लगाऊँ भने पनि सम्भव छैन, अब एक सातासम्म पनि नपरेर यस्तै घाम लागिरह्यो भने गहुँ सबै सुक्छ।’

बागलुङमा कुल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ। यो वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङले पनि आँकलन गरेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनका अनुसार जिल्लाको आंशिक्ष भू–भागमा मात्रै गहुँ खेती गरिँदै आइएको छ। सिंचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको पुनको भनाइ छ।

सूचना अधिकारी पुन भन्छन्,‘कृषकले गहुँ लगाएपछि लामो समय खडेरी पर्‍यो। सामान्यतया गहुँ लगाएको दुईतीन हप्तामा राम्रो सिँचाइ आवश्यक हुन्छ। तर यो वर्ष त्यो हुन सकेन। त्यसले गर्दा जिल्लामा गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ। यसले कृषकलाई ठूलो मर्का पर्नेछ।’

जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरी जातको गहुँ लगाइने उनले बताए। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्ला ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ।

खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। त्यसमध्ये बाह्रै महिना सिँचाइ हुने क्षेत्र दुई हजार ७७५ हेक्टर मात्र छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.