सुदूरपश्चिममा सजिलो छैन विश्वासको मत

|

धनगढी : सुदूरपश्चिमको दुर्गम मानिने अछामको रामारोशनमा बुवा मंगलबहादुर शाह र आमा चन्द्रा शाहबाट २०२८ साल माघ १० मा जन्मिएका थिए कमलबहादुर शाह। त्यसपछि उनको परिवार कैलाली सरेको थियो।

कैलाली आएपछि शाहले टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा लिएका थिए। शाहले व्यवस्थापन संकायमा स्नातक सम्मको अध्ययन गरेका छन्। २०४४ सालमा नेविसंघबाट नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएका शाह २०४६ सालदेखि ५२ सालसम्म नेविसंघको क्याम्पस इकाइ सदस्य, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भएका थिए। शाहले तरूण दलको खेलकुद विभागको केन्द्रीय सदस्य भएर पनि काम गरे।

त्यसपछि २०५५ देखि ०६८ सम्म उनी तरुण दलको केन्द्रीय कोषाध्यक्ष र सचिव हुँदै उपाध्यक्ष बने भने पार्टीको नवौं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म आइपुग्दा निरन्तर महासमिति सदस्यमा विजयी हुँदै आएका छन्। तर केन्द्रीय सदस्यमा भने उनी दुईपटक पराजित भएका थिए।

१४औँ महाधिवेशनमा कैलालीमा महासमिति सदस्य बन्ने कोइराला समूहका शाह एक्ला नेता थिए। उनले २०४६ र २०६३ को जनआन्दोलनमा पटकपटक गरी चार महिना बन्दी जीवन पनि बिताएका छन्।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा कैलाली– २ बाट उम्मेदवार बनेका उनी एमालेका मोहनसिंह राठौरसँग पराजीत भए। गत मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा भने उनले कैलाली–२ को प्रदेशसभा (१) मा नागरिक उन्मुक्ति पार्टीका रतन थापालाई पराजित गर्दै पहिलोपटक संसदीय चुनाव जितेका थिए।

अहिले उनै पहिलोपटक संसदीय चुनाव जितेका शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चुनिएको ३७ दिनमै मुख्यमन्त्री भएका शाहको राजनीतिक छलाङलाई कांग्रेसभित्र अस्वभाविक रूपमा लिनेहरु पनि छन्।

एमाले, नेकपा माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउँदा शाहलाई मुख्यमन्त्री पद चिठ्ठा परेको हो।

उनी संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले शुक्रबार पदभार पनि ग्रहण गरिसकेका छन्।

प्रतिकूल अंकगणित र अन्योलग्रस्त भविष्य

अब उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ। नागरिक उन्मुक्ति पार्टीले यसअघिका मुख्यमन्त्री रावललाई नियुक्तिका बेला समर्थन गरेर पछि विश्वासको मत नदिँदा रावल नेतृत्वको सरकार ढलेको थियो।

त्यसपछि मुख्यमन्त्री बन्ने अवसर पाएका शाहका लागि पनि अहिलेको अवस्थामा प्रदेशसभाको अंकगणित अनुकूल छैन। प्रदेश सरकार ढले पनि केन्द्रदेखि अन्य ६ प्रदेशमा एमाले नेतृत्वको गठबन्धन कायम छ। त्यसकारण सुदूरपश्चिममा शाहले पनि विश्वासको मत पाउन अवस्था चुनौतीपूर्ण देखिन्छ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दा सम्बोधनकै अडान कायम राखेर विश्वासको मत नदिने र एमाले नेतृत्वको गठबन्धन कायमै रहेको अवस्थामा शाहले विश्वासको मत पाउने छैनन्।

किनकि अहिलेको परस्थितिमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारा जोशी गरेर शाहको पक्षमा २४ जना देखिन्छन्। एमाले नेतृत्वको गठबन्धनसँग एमालेका १०, माओवादीका (सभामुख बाहेक) १० र राप्रपाका १ गरेर २१ जना सांसद छन् भने नाउपाका ७ जना सांसद छन्।

तर, राष्ट्रपतिको निर्वाचनसम्म अहिलेको गठबन्धन भत्किएर आफ्नो नेतृत्वमा पुरानो गठबन्धन बन्ने विश्वासका आधारमा कांग्रेसका नेताहरु माओवादीले विश्वासको मत दिने र सरकार अघि बढ्ने बताउँदै आएका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएपछि स्वयं शाहले समेत आफ्नो नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने दाबी गरेका छन्। तर पूर्व मन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता खगराज भट्ट भने आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताउँछन्। उनले बिहीबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा अब हामी प्रमुख प्रतिपक्षी भनेर लेखेका छन्। अबको ३० दिनमा सिर्जना हुने राजनीतिक परस्थितिले शाह नेतृत्वको सरकारको भाग्य र भविष्य निर्धारण गर्नेछ।

रोचक राजनीतिक छलाङ

पुस १० अघिसम्म सुदूरपश्चिम प्रदेशको राजनीतिक माहोल फरक थियो। माओवादी कांग्रेस गठबन्धनको स्पष्ट बहुमत रहेको सुदूरपश्चिममा माओवादी र कांग्रेस दुवैले मुख्यमन्त्रीमा दाबी गरेका थिए। त्यो बेलासम्म दुवैका संसदीय दलका नेता छनोट भएका थिएनन्। तर, माओवादीबाट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज खगराज भट्ट दलको नेता बन्ने निश्चित जस्तै थियो।

उनलाई माओवादीकै ओम विक्रम भाट सरलले काउन्टर दिए पनि अन्ततः भट्ट नै दलको नेता बनेका थिए।

कांग्रेसमा भने केन्द्रीय सभापति शेरबहादुर देउवाको सहोदर भतिजा प्रकाश देउवालाई संसदीय दलको नेताको रुपमा सबैले चित्रण गरेका थिए। देउवा सहित आधा दर्जन दलको नेताका आकांक्षी रहे पनि पुस २० मध्य दिन सम्म धेरैले देउवालाई नै दलको नेता बुझेका थिए।

बहादुर सिंह थापा, प्रकाश देउवा, दिवानसिंह विष्ट, मेघराज खड्का प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट गरी ७ जनाको दाबी रहेपनि थापा, देउवाकै सम्भावना अधिक रहेको थियो। विष्ट बाहेकका अन्य आकांक्षी सबै सभापति शेरबहादुर देउवा पक्षधर हुन्।

कमलबहादुर शाहको संसदीय दलको नेताको आंकाक्षी नामहरुमा चर्चासमेत कम थियो। तर शाहले सर्वसम्मत दलको नेता चयन भएर शाहले अप्रत्यासित फड्को मारे। पार्टी संरचनामा आफूभन्दा उपल्लो तहमा रहेका नेताहरुलाई उछिन्दै शाह सर्वसम्मत चुनिएका थिए।

सभापति शेरबहादुर देउवाले त हरहालतमा महाधिवेशन प्रतिनिधिसमेत रहेका भतिजा प्रकाश देउवालाई दलको नेता बनाउन चाहेका थिए। तर, देउवा संस्थापन भित्रैबाट आकांक्षी धेरै भएकाले प्रकाशलाई अघि सार्दा समूहमा विग्रह हुने आशंकाले दोस्रो पात्रको खोजीमा थिए।

अर्कोतिर, नेता प्रकाशमान सिंहले उनीनिकट प्रदेश सांसद कमलबहादुर शाहलाई संसदीय दलको नेता बनाउन सभापति देउवालाई दबाब बढाइरहेका थिए। त्यसकारण उनी दलको नेता बन्न सफल भएका थिए।

शाहलाई संसदीय दलको नेता बनाउन देउवाका भतिजा प्रकाशले समेत अप्रत्यक्ष रुपमा सघाएका थिए। शाह २० पुसमा दलको नेतामा सर्वसम्मत चयन भएका थिए। त्यो बेला राजनीतिक समीकरण फेरिएका कारण प्रकाश देउवा मुख्यमन्त्री बन्ने परिस्थिति नभएकै विश्लेषणका आधारमा पनि देउवाले शाहलाई दलको नेता बनाएका थिए। तर दलको नेता बनेको ३७ दिनमै शाह मुख्यमन्त्री बन्ने अवस्था आयो।

प्रकाश देउवाले भने भौतिक पूर्वाधारमन्त्रीमा चित्त बुझाउनु प¥यो। बहादुर थापा र देउवालाई नै समर्थक र प्रस्तावक राखेर दलको नेता भएका कमल शाह अहिले प्रदेशको मुख्यमन्त्री बनेका छन्। अहिले सभापति शेरबहादुर देउवाको भतिजा प्रकाशलाई मुख्यमन्त्री बनाउने चाहनामा धक्का पुगेको विश्लेषण पनि गरिएको छ। तर, शाहले अहिले देउवालाइ आफ्नो पहिलो रोजाइमा राख्दै भौतिक पूर्वाधार तथा विकास मन्त्री नियुक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.