९० जना करार कर्मचारी भर्ती गर्न दबाब

|

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सोमबार आफ्नो पन्ध्रौँ वार्षिकोत्सव मनायो। बबरमहलस्थित कार्की ब्यांकेटमा मनाएको उत्सवमा कर्मचारीमा शुभकामना तथा खुसी साटासाट गर्नुपर्ने हो। त्यहाँ त्यस्तो दृश्य देखिएन। कार्यक्रममा खानेपानीमन्त्री अब्दुल खान प्रमुख अतिथिको रूपमा थिए।

केयुकेएलका प्रशासन तथा अर्थ विभाग प्रमुख विजय तिमिल्सिनाले स्वागत मन्तव्य राखे। त्यसपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आधिकारिक ट्रेड युनियनका तर्फबाट युनियनका अध्यक्ष नवलसिंह साउदले मन्तव्य राख्ने क्रममा मन्त्रीकै​ सामु केयुकेएलभित्रको चरम बेथिति,राजनीतिक हस्तक्षेप सार्वजनिक गरे।

उनले आर्थिक, प्रशासनिक र नीतिगत कमजोरीका कारण कर्मचारी काम गर्ने वातावरण नबनेको भन्दै त्यस्तो वातावरण सिर्जना गर्न माग गरे। उनका अनुसार सञ्चालक समितिको निर्णयअनुसार केयुकेएलका प्रमुख कार्यकारी अधिकृतलाई यथावत् कायम गर्दै अधिकार कटौती गरी उप कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रशासनिक आर्थिक र प्राविधिक अधिकारले कम्पनीको दैनिक कार्य सुचारू भएको छ।

‘तर,महत्त्वपूर्ण कार्यहरू जस्तै वार्षिक साधारणसभा सम्पन्न भएको छैन। कर्मचारीहरूको वृद्धि विकास ठप्प भएको छ। आजको मितिसम्म सिइओको कार्यसम्पादन मूल्यांकनमा प्रक्रिया अगाडि बढेको छैन। उप कार्यकारी अधिकृतले  कार्यकारी प्रमुखको हैसियतमा काम गर्ने अधिकार पनि प्राप्त भएको छैन। यो अवस्थामा केयुकेएल कति दिनसम्म सञ्चालन गर्ने हो?’, उनले प्रश्न भने। 

महसुल बिलिङको काम बन्द तर मर्मतमा छैन चासो

केयुकेएलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष साउदले कप्युटर बिलिङसम्बन्धी सफ्टवेयरमा आएको समस्याका कारण गत मंसिर महिनादेखि नै खपत अंक पुष्टि गर्ने काम नभएको बताए तर अहिलेसम्म मर्मतका लागि कसैले चासो नलिएको उनको भनाइ छ।

‘कम्प्युटरसम्बन्धी बिलिङ सम्झौता भएको छैन, २०७९ मंसिरदेखि खानेपानी महसुल बिलिङ र संकलन गर्ने काम अवरुद्ध छ। खपत अंक पुष्टि गर्न नमिल्ने समस्या छ। यसको समाधान नभएसम्म खानेपानी महसुलमा लाग्ने जरिवाना शतप्रतिशत छुट गरी उपभोक्तालाई राहत दिनुपर्छ’‚ उनले भने। 

उनका अनुसार मेलम्ची खानेपानी व्यवस्थापनका लागि सरकारले करिब ६५ अर्ब लगानी गरिसकेको छ। पानीको व्यवस्थापनका लागि अत्याधुनिक संरचना बनेको छ तर सञ्चालन गर्न दक्ष जनशक्तिसँगै आर्थिक,प्रशासनिक र नीतिगत धेरै समस्या देखिएको छ।

‘विभिन्न समस्या बाबजुद हामी वार्षिक उत्सव मनाइरहेका छौँ’‚ उनले भने,‘केयुकेएलको प्रमुख कार्यकारी अधिकृतको सम्बन्धको छिटो टुंगो लगाउन मन्त्रीसँग आग्रह गर्छौं। कम्पनीमा बन्द हडताल गर्न हुँदैन भन्ने निर्देशन मान्न हामी तयार र प्रतिबद्ध छौँ तर हाम्रा मागको सुनुवाइ हुनुपर्छ।’ उनीहरूले यसअघि केयुकेएलमा विभिन्न माग राख्दै विराेध प्रदर्शन गरेका थिए।

उनले कम्पनीमा कार्यरत कर्मचारीहरूको पदअनुसार जिम्मेवारी नदिइएको बताउँदै यसको समाधान गरी हाल कार्यरत कर्मचारी तलब स्केल एक रूपता बनाउन माग गरे।

कर्मचारी भर्तीमा दबाब

केयुकेएलमा राजनीतिक आडले करारमा कर्मचारी भर्ना गर्न लागिएको समेत खुलेको छ। केयुकेएलका प्रशासन तथा अर्थ विभाग प्रमुख विजय तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै आफूलाई ९० जना करार कर्मचारी राख्न दबाब आएको तर आफूले अहिलेसम्म स्वीकृत नगरेको बताए।

उनले खानेपानी मन्त्रीकै अगाडि भने, ‘केयुकेएलमा पछिल्लो समय बढी राजनीतिक हस्तक्षेप बढेको छ। मलाई ९० जना करार कर्मचारी राख्ने भनेर दबाब आइरहेको छ। मैले अहिले राख्न सकिँदैन भनेको छु। अहिले पनि फोन म्यासेज गरेर मेरो काम कहिले बन्छ भन्दै दबाब आएको छ। यसरी त काम गर्न सकिँदैन,राजनीतिक हस्तक्षेप बन्द गरौँ।’ केयुकेएलका अनुसार हाल केयुकेएलमा करार तथा स्थायी गरी १ हजार ३८४ कर्मचारी छन्।

आर्थिक संकटमा जाँदै केयुकेएल

केयुकेएलका प्रशासन तथा अर्थ विभाग प्रमुख तिमिल्सिनाले पानीको महसुलमा पुनर्विचार नगरे केयुकेएल चरम आर्थिक संकटमा पर्ने जानकारी दिए। ‘२०७० सालदेखि पानीको महसुल १०० रुपैयाँ नै छ। यही अवस्थामा चलाए केयुकेएल आर्थिक संकटमा जाने देखिन्छ’‚ उनले भने।

केयुकेएलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष साउदले पनि राजनीतिकरणसँगै अहिले भएको बेथितिको अन्त्य नगरे पानी वितरणमा प्रभाव पर्ने बताए। ‘महसुलमा पुनर्विचार गर्नैपर्छ,अहिलेबाटै आर्थिक संकट भएको छ। खानेपानीको उत्पादन, प्रशोधन र वितरण कार्य प्रभावित हुने देखिँदै आएको छ’, उनले भने। 

केयुकेएलले ४ वर्षदेखि अडिट नगर्दा केही योजनामा प्रभाव परेको भन्दै खानेपानी मन्त्रालयले नै छिटो अडिट सक्नु भनेको छ। मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘एशियाली विकास बैंकको केही सहयोग छ। अडिट रिपोटसँग सम्बन्धित भएकाले अन्य योजनामा प्रभाव परेको छ। त्यसैले ४/४ वर्षको अडिट पूरा गर्न आवश्यक छ। त्यो पूरा होस् भन्ने हाम्रो अपेक्षा छ’‚ उनले भने। 

कसैले पनि राजनीति नगर्नु : मन्त्री खान

केयुकेएलमा भएको बेथिति सुनिसकेपछि खानेपानीमन्त्री खानले खानेपानीको व्यवस्थापन र वितरणमा कसैले पनि राजनीति नगर्न सबै व्यवस्थापन समिति र कर्मचारीलाई निर्देशन दिए।

‘पानी भनेको हाम्रो जीवन हो। योसँग खेलवाड गर्ने कसैको अधिकार हुँदैन’‚ उनले भने,‘पानी मौलिक अधिकारभित्र पर्छ, नीति नियम बनेपछि जनताले पानी पाएन भने सरकारलाई मुद्दा पनि हाल्न सक्छ। त्यसैले पानीमा राजनीति गर्न हुँदैन,इमान्दारी भएर काम गरौँ।’ उनले केयुकेएलमा भएको समस्या समाधानमा मन्त्रालय सदा तत्पर रहेको बताए। 

केयुकेएलका सञ्चालक समितिका अध्यक्ष तिरेशप्रसाद खत्रीले पनि त्यहाँ भएको समस्या समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। ‘निश्चित प्रतिफल प्राप्त गर्ने गरी काम गर्न सबैको सहकार्य आवश्यक छ। अब छिट्टै अडिट रिपोट पनि हामी जारी गर्नेछौँ’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.