|

चितवन : निर्वाचन आयोगले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, चैत २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तालिका रहेको आयोगले जनाएको छ। आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालयलाई परिपत्रसमेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए। 

अहिले कार्यालयले नामावली अद्यावधिक गरिरहेको छ। फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिनेछ। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले उपनिर्वाचनका लागि तयारी गरेको हो। गत मंसिर ४ गतेको निर्वाचनमा १ लाख २५ हजार १६५ मतदातामध्ये ८२ हजार ९३४ मत खसेको थियो।

सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा ५९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मतदाताले नामावली दर्ता गराएका हुन्। आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली संकलन भने स्थगन भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.