७८ लाख थान मात्रै सकियाे नयाँ पुस्तक छपाइ

|

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माघ १५ गते आगामी २०८० को नयाँ शैक्षिक सत्र वैशाख १ गते सुरू हुने सूचना जारी गर्‍यो।

मन्त्रालयको माघ ६ को मन्त्रीस्तरीय निर्णयअनुसार वैशाख १ गते शैक्षिक सत्र सुरू भइ चैत मसान्तसम्म कायम गरिएको छ तर कर्णालीका जिल्लाहरूमा भने यही फागुन पहिलो साताबाट शैक्षिक सत्र सुरू हुने भएको छ। 

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले फागुन पहिलो साता नयाँ शैक्षिक सत्र सुरू भइ मंसिरमा सकिने बताइन्। तर नयाँ पाठ्यपुस्तक विद्यार्थीहरूको हातमा पुगेको छैन। सरकारको स्वामित्वमा भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अहिले धमाधम नयाँ पुस्तक छापिरहेको छ।

केन्द्र सरकार र प्रदेश सरकारले देशभर शैक्षिक सत्रमा एकरूपता कायम गर्न नसक्दा विद्यार्थी र अभिभावकहरूमा अन्योल हुने गरेको छ। अर्कातर्फ सरकारले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरे पनि अझै कसले छाप्ने भन्ने टुंगो लागेको छैन। नयाँ पुस्तक पुर्‍याउनेमा झनै समस्या देखिएको छ। 

केन्द्र भन्छ : वैशाखबाटै शैक्षिक सत्र थाल्नू 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रूद्रप्रसाद अधिकारीले सबै जिल्लाहरूमा वैशाखदेखि नै नयाँ शैक्षिक सत्र सुरू गर्नुपर्ने जानकारी दिए।

‘सरकारले नै यसपालि वैशाख १ गतेबाट नै सबै जिल्लाहरूमा एकरूपता कायम गर्न शैक्षिक सत्र थाल्नु भनिसकेको छ, त्यहीअनुसार अहिले पुस्तक पनि छापिँदै आएको छ,’ उनले भने। तर कर्णाली प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक हमालले यो समयमा थाल्दा हिमपात कारण पढाइमा असर पुग्ने बताइन्।

‘पहिलादेखि नै हिमाली क्षेत्रमा फागुनबाट नै शैक्षिक सत्र सुरू गर्ने गरिएको छ, नभए हिमपातले पठनपाठनमा असर पुग्छ तर पुस्तक भने अभाव हुने भयो,’ उनले भनिन्।

उनका अनुसार हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगु यी ५ जिल्लाहरूमा फागुन पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरू हुनेछ। अन्य जिल्लामा भने वैशाखबाट शैक्षिक सत्र सुरू हुनेछ।

केन्द्र र प्रदेशसँग समन्वय नै भएन

मंगलबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पाठ्यपुस्तक व्यवस्थापन तथा अनुगमन समितिको बैठक बस्यो। उक्त बैठकमा शैक्षिक सत्र आइसक्दा पनि अझै कुन निजीले पुस्तक छाप्ने भन्ने टुंगो नलागेको समितिका सदस्य एवं नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए।

उनले शैक्षिक सत्र तोक्ने काममा समन्वय नै नभएको बताए। ‘पहिला हिमाली र अन्य जिल्लाका लागि २ शैक्षिक सत्र हुन्थ्यो, अहिले कोभिडका कारण शिक्षा मन्त्रालयले वैशाखबाट तोकेको छ तर कर्णाली प्रदेशले मानेन, फागुनबाटै सुरू गर्ने भनेको छ। तर पुस्तक छपाइ भएको छैन, केन्द्र र प्रदेशको तालमेल नै मिलेन,’ उनले भने। 

उनका अनुसार पुस्तक छाप्न पाठ्यक्रम चाहिन्छ। ‘अहिले फेरि पाठ्यक्रम परिवर्तन भएको छ,’ उनले भने, ‘छाप्ने विषय भएपछि ‘प्रिन्टिङ रेडि कपी’ सामग्री तयार गरेर छाप्ने निकायमा दिनुपर्छ तर अहिलेसम्म कतिपय तयार भएर दिइएको छैन। पाठ्यक्रम विकास केन्द्रले यो काम गर्नुपर्ने हो, प्रकृयामा छ भन्छ।’

उनले अब समय थोरै भए पनि राज्यले अझै पुस्तक छपाइ र व्यवस्थापनमा गम्भीरतापूर्वक चासो नदेखाएको बताए।

‘नयाँ शैक्षिक सत्र सुरू हुन ५७ दिन समय छ, ढुवानीमा १५ दिन लाग्ला, भनेपछि ४२ दिन अब हामीसँग बाँकी छ। यो भनेको वैशाखबाट शैक्षिक सत्र सुरू हुनलाई, कर्णाली त अब सुरू हुन लागेको छ, विद्यार्थीहरूको पढाइ प्रभावित हुने भयो। खै अब कसरी राज्यले समयमा पुस्तक पुर्‍याउला?,’ उनले भने।

उनले स्थानीय तहलाई अधिकार भएकाले केन्द्रबाट नभइ स्थानीय तहमार्फत शैक्षिक सत्र तोकिए यो समस्या नआउने बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले तत्काल हिमाली जिल्लाहरूमा नयाँ किताब उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। गत आइतबार प्रतिनिधिसभाको बैठकमा उनले समयमा मतपत्र छाप्ने सरकारले किताब छाप्न किन सक्दैन भन्दै प्रश्नसमेत गरे।

‘हिमाली जिल्लामा अझै किताब पुगेको छैन, जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ, तत्कालै हिमाली जिल्लामा किताब पठाउनुपर्छ,’ उनले भनेका थिए।

७८ लाख थान मात्रै सकियाे नयाँ पुस्तक छपाइ 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता अधिकारीले अहिलेसम्म जनक शिक्षाले ७८ लाख थान पुस्तक छापिसकेको जानकारी आएको बताए।

‘हिजो मन्त्रालयमा बोलाएर जनक शिक्षासँग पनि कुराकानी भएको छ, दैनिक १ लाख ६० हजारको दरले पुस्तक छाप्छौं र चैत १५ भित्र सबै छापिसक्छौं भनी प्रतिबद्धता जनाएको छ, दुर्गम क्षेत्रका लागि पुस्तक ढुवानी गरिहाल्ने पनि कुरा भएको छ,’ उनले भने। 

यो हिसाबले वैशाखबाट सुरू हुने शैक्षिक सत्रका लागि पुस्तक अभाव नहुने उनको भनाइ छ। उनले केही दिनमै निजी मुद्रक पनि छनोट गर्ने बताए।

उनले भने, ‘अहिले जनक शिक्षाले कक्षा ६ देखि १२ सम्मको पुस्तक छाप्दै आएको छ, पहिलाबाटै कक्षा १ देखि ३ सम्मको निजीले छाप्दै आएको हो। फेरि कक्षा १ देखि ५ सम्म छाप्न आवेदन आएको छ, १/२ दिनभित्रमा छनोट गरि छाप्ने काम हुन्छ।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले २ करोड १२ लाख थान पुस्तक छाप्नु पर्नेछ।

अब के हुन्छ कर्णाली प्रदेशका जिल्लामा ? 

कर्णाली प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक हमालले शैक्षिक सत्रको विषयमा स्थानीय तहसँग छलफल गर्ने जानकारी दिइन्।

उनले भनिन्, ‘हामी नयाँ पुस्तक विषयमा पनि बुझ्छौँ, स्थानीय तहसँग पनि छलफल गर्छौं। समयमा पुस्तक उपलब्ध भए फागुनबाट नै शैक्षिक सत्र सुरू हुन्छ नभए वैशाखबाट नै थाल्ने कि‚ यस विषयमा छलफल गर्छौं।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता अधिकारीले यी जिल्लाहरूमा कोर्स सकिए र पुस्तक उपलब्ध भए फागुनबाट नै शैक्षिक सत्र थाल्न सक्ने बताए।

‘नयाँ शैक्षिक सत्र वैशाख १ देखि सुरू गर्ने निर्णय छ, कोर्स सकिए स्थानीय तहले त्यस क्षेत्रमा शैक्षिक सत्रबारे निर्णय गर्न सक्छ, आपत्ति छैन तर अफिसियल्ली चाहीँ वैशाखबाट नै सुरू हुने हो,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.