|

सल्यान : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ सालमा तामझामका साथ देशभर एकै दिन भर्चुअल प्रविधिबाट अस्पतालको शिलान्यास गरे। त्यसैअनुसार सल्यानका ८ पालिकामा पनि आधारभूत अस्पतालको शिलान्यास गरियो।

सल्यानका ६ वटा पालिकामा १५ शय्या र २ वटा पालिकामा १० शय्याको अस्पताल निर्माणका लागि शिलान्यास भयो। शिलान्यास भएको दुई वर्षभित्रै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर हचुवाका भरमा शिलान्यास गरिएको अस्पताल दुई वर्ष बितिसक्दा समेत अहिले पनि अघि बढ्न सकेका छैनन्। 

आफ्नै पालिकामा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीय बासिन्दा पनि खुसी भए। गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने पूरा हुन सकेको छैन। अस्पताल निर्माणका लागि शिलान्यास भएको २६ महिना हुँदा पनि केही पालिका अझै जग्गा खोज्दै छन् भने केही पालिकामा भवन निर्माण अलपत्र छ।

बनगाड कुपिण्डे नगरपालिकाकी दिलमाया खत्रीले स्वास्थ्य उपचारका लागि सल्यान जिल्ला अस्पताल खलंगा वा सुर्खेत जानुपर्ने बाध्यता रहेको बताइन्।

‘पालिकामै विशेषज्ञ उपचार सेवा पाउने आशामा बसेको २६ महिना भएको छ, तर अहिलेसम्म पनि भवन निर्माण भएको छैन। यसै वर्षदेखि मात्र भवन निर्माण शुरु भएको छ। त्यो कहिले पूरा हुन्छ थाहा छैन’, उनले भनिन्।

छत्रेश्वरी गाउँपालिकाका महेश घर्तीको पीडा पनि दिलमायाको भन्दा फरक छैन। तामझामका साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि जिल्ला अस्पताल वा निजी मेडिकल जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

‘जनतालाई आश्वासन दिनकै लागि हतारमा भवन शिलान्यास भयो तर अहिले काम हुन सकेको छैन। पालिकामै विशेषज्ञ उपचार पाउनबाट नागरिक वञ्चित भएका छन्’, उनले भनिन्।

जिल्लाको बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बाहेक अरू ६ वटा पालिकामा भवन निर्माण शुरु भएको थियो। केही पालिकामा काम रोखिएको छ। दार्मा गाउँपालिकाको भल्चौरमा आधारभूत अस्पतालको पहिलो तलाको ढलान सकेर दोस्रो तलाको ढलानको तयारी हुँदै छ। कुमाख गाउँपालिकाको कालागाउँमा अस्पतालको पहिलो तलाको ढलानको तयारी छ।

कालिमाटी गाउँपालिकाको रामपुरमा पनि भवन निर्माण जारी छ। शिलान्यास भएर पनि जग्गा अपुग हुँदा निर्माण रोकिएको बनगाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणको काम यसै वर्षदेखि शुरु भएको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिए।

‘पहिले शिलान्यास गरिएको ठाउँमा जग्गा पुगेन, स्थानीयबाट जग्गा प्राप्त भएपछि अम्रामा भवन निर्माण शुरु भएको छ’, उनले भने।

छत्रेश्वरी गाउँपालिकाको लेखपोखरामा अस्पताल भवन निर्माण अलपत्र छ। निर्माण कम्पनीले जग्गा सम्याउने र छड लगायतका सामग्री निर्माण स्थलसम्म पुर्‍याए पनि बाँकी काम अघि बढेको छैन। शि

लान्यास भएको स्थानमा जग्गा कम हुँदा कपुरकोट गाउँपालिकाको धनवाङमा भवन निर्माण रोकिएको छ। अस्पतालका लागि ७ रोपनी जग्गा हुनुपर्नेमा करिब २ रोपनी जग्गामा शिलान्यास गरेर निर्माण शुरु भएकाले अहिले निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए।

‘पहिले गरिएको डिपिआर स्वीकृत भएन, जग्गा कम हुँदा रकम निकासामा पनि समस्या भएको छ। जग्गा व्यवस्थापन नगरी शिलान्यास गर्दा समस्या भएको हो’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.