काठमाडौं : ७ संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्रीलाई भेटेर स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन्।
सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षले बिहीबार संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका हुन्।
भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका छन्। भेटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको प्रधानमन्त्रीसमक्ष राखेको बताए। उनले आयोगहरूमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिए।
उनले भने‚ ‘७ वटै आयोगका अध्यक्षहरू महिला, दलित, समावेशी, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम सातवटै आयोगका अध्यक्षहरूसँग सम्माननीय प्रधानमन्त्रीसमक्ष भेट गरी उहाँलाई हामीले शुभकामना, बधाई सँगसँगै आयोगका समस्याहरू छन्- अत्यन्त अधिकारविहीन र स्रोत, साधनको अवस्था अत्यन्त न्यून भएको कारणले ती सबै समस्या हामीले प्रधानमन्त्रीज्यूसमक्ष राख्यौँ। कर्मचारीको दरबन्दीको कुरा‚ पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्यून भएको आ–आफ्ना आयोगका समस्याहरू प्रधानमन्त्रीसमक्ष राख्यौँ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरूलाई बलियो बनाउन सरकारले प्रयास गर्ने प्रतिबद्धता जनाएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।