|

काठमाडौं : नेपाल यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान देव खनालले युएईमा हुने विश्वकप एशिया छनोट प्रतियोगितामा खेली छनोट भएर स्वदेश फर्किने बताउनुभएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय खेलकुद परिषदमा आयोजित बिदाइ कार्यक्रमपछि नेपाली टोलीका कप्तान देव खनालले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताए।

पोखरामा भएको अभ्यास र घरेलु मैदानमा सिनियर टोलीसँग खेलेका केही अभ्यास खेलबाट टोलीको प्रदर्शनमा सन्तोषजनक भएको भन्दै नवनियुक्त कप्तान खनालले छनोट नै टोलीको मुख्य लक्ष्य भएको बताए। टोलीमा मुख्यतः फास्ट बलिङ पक्ष राम्रो भएको उनले थपे।

छनोट प्रतियोगिताका सबै खेल फाइनल जत्तिकै महत्वपूर्ण भएको भन्दै खनालले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोली मैदान उत्रिने बताए। कप्तानको जिम्मेवारी आफ्नो व्यक्तिगत करियरका लागि निकै महत्वपूर्ण रहेको र राम्रो नतिजा देशका लागि दिलाउँदै पुनः राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्य रहेको कप्तान खनालले बताए।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि सबै खेल महत्वपूर्ण रहेको र सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने योजनामा टोली रहेको बताए। नेपाली टोली सबै पक्षमा सन्तुलित भएको बताउँदै प्रशिक्षक टमाटाले मुख्यतः टोलीमा रहेका तीव्र गतिका बलर खेलमा हावी हुने विश्वास लिएको बताए।

मंगलबार नेपाली टोलीले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन टोली स्कटल्याण्डसहित नामिबियासँगको श्रृंखलामा क्लिन स्विप गरेपछि उमेर समूहको टोलीमा पनि मनोबल बढेको बताउँदै प्रशिक्षक टमाटाले करिब २ महिनाको क्लोज क्याम्पको नतिजा राम्रो आउने विश्वास व्यक्त गरे।

युवा खेलाडीमा केही गर्नुपर्छ भन्ने अठोट भएको र कुनै पनि हालतमा छनोट हुने लक्ष्य लिएर खेल्न टोली मानसिक तवरबाट तयार भएको प्रशिक्षक टमाटाले बताए। सिनियर टोलीसँगको अनुभव बटुलिसकेका देव खनालको कप्तानीमा टोली छनोट भएर स्वदेश फर्किनेमा आफू ढुक्क भएको बताए।

उता छनोट प्रतियोगिताका लागि नेपाली यू–१६ टोलीबाट खेलिसकेका अर्जुन कुमालले पनि तयारी राम्रो गरेको बताउँदै च्याम्पियन भएर स्वदेश फर्किने प्रतिबद्धता जनाउए।

अहिले मौका भएको भन्दै ओपनर अर्जुनले सबै खेलमा जित शतप्रतिशत दिएर टोलीका लागि सुखद् नतिजा दिलाउने लक्ष्यका साथ खेल्ने बताए।

एशिया छनोट फागुन १२ देखि युएईमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष टोलीले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप यू–१९ मा सीधै छनोट हुने मौका पाउनेछ। यस प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्रसँग छनोट टोलीले विश्वकप यू–१९ प्रतियोगिता खेल्नेछ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्।

सार्वजनिक तालिकाअुनसार नेपालले पहिलो खेल फागुन १२ गते सिंगापुरविरुद्ध खेल्दै शुरुवात गर्नेछ। दोस्रो खेल नेपालले फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ।

फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। टोली बुधबार नै युएई प्रस्थान गर्नेछ।

नेपाली टोलीः

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.