|
डलर अभावले कराची बन्दरगाहमा रोकिएका कन्टेनर। तस्वीर : डन दैनिक

इस्लामावाद : आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको अवस्था निकै नाजुक बनेको छ। यहाँ अहिले हजारौं जनताका सामु रोजगारी संकट बढेको छ।

पाकिस्तानमा काम गर्ने दक्षिण कोरियाली कम्पनी अत्यधिक घाटामा छन्। यी कम्पनीले शटर बन्द गर्ने चेतावनी दिएका छन्। हाल सामान आयातमा प्रतिबन्ध र बन्दरगाहमा अड्किएका कन्टेनरका कारण पाकिस्तानमा सञ्चालित दक्षिण कोरियाली कम्पनीहरू ठूलो मारमा छन्।

यस्तो अवस्थामा कम्पनीले पाकिस्तानमा आफ्नो व्यवसाय बन्द गर्ने सोचमा छन्। पाकिस्तानमा कोरियाली लगानीकर्ताहरूले पाकिस्तानमा कच्चा पदार्थ आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न नपाउँदा कोरियाली कम्पनीहरूले लाखौं डलर गुमाउनु परेको आरोप लगाएका छन्।

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) का गभर्नरले जनवरी १ मा बन्दरगाहमा रोकिएका कन्टेनरको चाँडो भुक्तानी गर्न निर्देशन दिएका थिए। यद्यपि दक्षिण कोरियाली कम्पनीहरूले अझै पनि सामान आयात गर्न पाएका छन्। कराची बन्दरगाहमा अहिले कोरियालगायत विभिन्न देशका हजारौं कन्टेनर अलपत्र परेको विज्ञहरूले बताएका छन्।​

डलरको चरम अभाव

पाकिस्तानी सरकारले डलरको चर्को अभावका कारण विदेशी कम्पनीहरूलाई आयात गर्न प्रतिबन्ध लगाएको छ। यसले कन्टेनरहरूको भुक्तानी गर्न असम्भव बनाएको छ। पाकिस्तानमा हाल डलरको चरम अभाव छ, जसका कारण अधिकांश आयातमा प्रतिबन्ध लगाइएको हो।

पाकिस्तानले अन्तरराष्ट्रिय मुद्राकोषसँग ७ अर्ब डलर ऋण लिने कार्यक्रम अनिश्चित बनेको छ। पाकिस्तानको केन्द्रीय बैंकमा विदेशी मुद्रा सञ्चिति २ अर्ब ९ करोड डलर मात्रै छ।​

किया, हुन्डाई, लोटे र सामसङ जस्ता कम्तिमा २५ ठूला कोरियाली कम्पनीहरू पाकिस्तानमा काम गर्छन्। यी कम्पनीहरू समुद्री भोजन निर्यात र विद्युत् उत्पादन जस्ता विभिन्न उद्योगहरूमा संलग्न छन्। यस्तो अवस्थामा पाकिस्तानमा दक्षिण कोरियाली कम्पनीको व्यापार बन्द भयो भने पाकिस्तानको अर्थतन्त्रमा थप संकटमा पर्नेछ।

कोरियामा निर्भर पाकिस्तानी व्यापार

अन्तरराष्ट्रिय व्यापार केन्द्रको तथ्यांकअनुसार सन् २०२१ मा कोरियाबाट पाकिस्तानको आयात १५ लाख डलर थियो। दक्षिण कोरियाले पाकिस्तानमा निर्यात गर्ने मुख्य उत्पादनमा २६ करोड ९० लाख डलरको कार, ७ करोड २१ लाख डलरको प्रशोधित पेट्रोलियम पदार्थ, ६ करोड ८४ लाख डलरको फलाम छ।

पाकिस्तान कोरियाली कम्पनीहरूको ठूलो बजार हो। पाकिस्तानमा सञ्चालनमा रहेका कोरियाली कम्पनीहरूले एक वर्षभन्दा बढी समयदेखि नाफा कमाउन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.