|

काठमाडौं : फागुन १६ गते मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो।

परीक्षणको रिपोर्टमा विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ६८ प्रतिशत भेटियो। ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो।

लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी तरकारी स्टलमा पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिक्री भइसकेको थियो। थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो। 

केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बिहान ७–८ बजेतिर बजारबाट तरकारीको नमुना संकलन गर्छ र १० बजेतिर विषादी परीक्षणको रिपोर्ट तयार हुन्छ। समितिका अनुसार सामान्यतः कालीमाटी बजारमा तरकारी राति १२ बजेदेखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ७–८ बजेसम्ममा कालीमाटीबाट खुद्रा व्यापारीले त्यो तरकारी लगिसकेका हुन्छन्। 

तरकारी भान्छामा पुर् याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन। कालीमाटीमा मात्र होइन, केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन्। 

कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको कुनै प्रभावकारिता नभएको दाबी गरे। राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पुर्‍याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ७/८ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही हुँदैन। ‘बजारबाट लगिएका तरकारी ८ बजेसम्म भान्छामा पाकेर उपभोक्ताले खाइसक्छन्। उपभोग गरिसकेको तरकारीमा खान नहुने विषादी भेटियो भनेर प्रतिवेदन दिएर केही अर्थ छ?’, उनले प्रतिप्रश्न गरे।

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख नरहरिप्रसाद घिमिरे प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चितता भए हामीलाई राति प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या नहुने बताए। ‘प्रयोगशालामा काम गर्ने महिला कर्मचारी छन्, तिनको सुरक्षाको कसले जिम्मा लिने?’  सुरक्षाको व्यवस्था भयो भने हामी राति पनि नमुना संकलन गर्न तयार छौँ’, उनले भने। यसरी राति आएर परीक्षण गरेर दिएको प्रतिवेदनअनुसार समितिले तरकारी नष्ट गर्छ कि गर्दैन भन्ने पनि हेर्नुपर्ने उनले बताए। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ राति प्रयोगशाला सञ्चालन भएमा तरकारी नष्ट गर्न समिति तयार हुने बताए। बजारमा सुरक्षागार्डदेखि कर्मचारी साथीहरू रातिदेखि काम गरिरहेका हुने भएकाले प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यहाँभित्र आएपछि असुरक्षा नहुने उनको भनाइ छ। 

कालीमाटी प्रयोगशालामा कार्यरत कर्मचारी भने तरकारी परीक्षणका लागि नमुना लिनसमेत समस्या भएको बताउँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.