|

पर्वत : महिलाका कारण पीडित पुरुषहरूका बारेमा पनि बहस शुरु गर्नुपर्ने आवाज महिलाले उठाएका छन्।

‘महिलाका कारण पुरुषहरू पीडित बन्दै गएको विषयमा बोल्नुपर्ने भएको छ। नारी दिवस भनेर महिलाका बारेमा मात्रै कुरा नगरौँ। यहाँ महिलाका कारण धेरैका घरबार बिग्रिएका छन्। अहिले हरेक घरका छोरा र श्रीमान्‌को अवस्था के भइरहेको छ?’‚ ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कुश्मा नगरपालिका-५ की गृहिणी चम्पा श्रेष्ठले भनिन्।

नारी दिवसका  महिलाका विषयका मात्र कुरा उठ्दै आएको सन्दर्भमा उनले महिलाका कारण पीडित भएका पुरुषहरूको बारेमा पनि बहस शुरु गर्नुपर्ने बताइन्।

उनी भन्छिन्, ‘छोरा मान्छे रुँदै हिँड्न नभएर हो। यहाँ अधिकार अधिकार भन्दाभन्दै महिलाहरूले अधिकारमा मनपरी गरेको देख्छु म।’

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सिसेफ महिला समूहसँगको सहकार्यमा लैङ्गिक हिंसा र महिलाको अधिकारका विषयमा आयोजना गरेको अन्तरसंवादमा बोलेकी समाजसेवी बुद्धिकुमारी श्रेष्ठले पनि पुरुषले आँसु देखाउन नसकेका कारण महिलाबाट पीडित भएर बस्नुपरेको आफूले धेरै ठाउँमा देखिरहेको बताइन्।

‘पुरुषले आँसु देखाउन सकेका छैनन्। महिलाहरू आफ्नो ठाउँमा बस्नुपर्छ। पुरुषले पनि आफूले भोगका अन्याय बाहिर ल्याउनुपर्छ। महिलामा अनेक कुरा देखेर घरमा हिंसा भइरहेका छन्’, उनले भनिन्, ‘महिलाले आँसु झार्नासाथ उसको कुरामा विश्वास गर्ने चलनका कारण पनि पुरुषहरू चुप लाग्नुपर्ने अवस्थामा रहेका छन्। मानवले मानवलाई सम्मान गर्नुपर्छ।’

नारी दिवसको अवसरमा प्रायः महिला अधिकारको विषयमा मात्रै आवाज उठ्ने गरे पनि समाजमा देखिएका विभिन्न विकृतिले धेरैका घरबार बिग्रँदै गएको सन्दर्भमा आफूहरूले यी कुरा उठाएको दुवैजना महिलाको भनाइ छ।

महिला अधिकारको विषयमा मात्रै कुरा गर्दा पुरुषले महिलामाथि गरिरहेको हिंसाको मात्रै कुरा उठेको देखिएकाले नारी दिवसमा महिलामाथि भएका मात्रै नभई पुरुषमाथि भएका हिंसाको पनि कुरा उठ्नुपर्ने वेला आएको बुद्धिकुमारी बताउँछिन्।

गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य जगन्नाथ शर्माले सबै प्रकारका हिंसा अन्त्य गर्न ‘म हिंसा सहन्नँ, म हिंसा गर्दिनँ र म हिंसा हुने वातावरण आउन दिन्नँ’ भन्ने मानसिकतामा रहनुपर्ने सुझाव राखे। समाजमा महिलाबाट महिलामाथि नै हुने हिंसाले पनि समस्या पारिरहेको उनको भनाइ छ।

‘समाजमा रहेको सासू र बुहारीको नातामा रहेको झगडा अन्त्य गरौँ। सबैका छोरी एक दिनका बुहारी र एक दिनका सासू हुन्। घरमा आउने समस्या हामीमध्येका कोही नै त हो’, उनले भने, ‘त्यहीँबाट शुरु भएको विषयले सम्बन्धविच्छेद हुने गरेका छन्। अपाङ्गता भएका मान्छेहरू झनै बढी हिंसामा परेका छन्। जातीय हिंसा पनि अन्त्य गर्नु छ।’

एन.सी.इ नेपालका अध्यक्ष राजेन्द्र पहाडी धेरै महिला पीडित रहेको बताउँछन्। पुरुषलाई सबैभन्दा उच्च श्रेणीको र महिलालाई दोस्रो दर्जामा राख्ने भाष्य परिवर्तन गर्नु तथा महिलाभन्दा पुरुषको मूल्य बढी भएको सन्दर्भलाई परिवर्तन गर्नु आवश्यक भएको उनको भनाइ छ।

‘हरेक व्यक्तिको पहिचान हुन्छ। मेरी आमाको सम्मानका लागि यो दिवस निकै महत्त्वपूर्ण छ’, पहाडी भन्छन्, ‘पहिचान‚ समानता अनि समताको कुरा आएको छ। हामी सबैलाई मर्यादित जीवन चाहिएको छ।’ 

महिलालाई आधारभूत रूपमा शिक्षित गर्न नसक्दा लैङ्गिक विभेद कायमै रहने तथा पुरुषमा रहेको हैकमवादी सोच अन्त्य नहुँदासम्म महिलाले पनि आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने समय नआउने पहाडीको भनाइ छ।

ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई गोबर लोटाए झैँ लोटाइएको कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल बताउँछिन्। कसैमाथि अन्याय नगरी आफ्ना अधिकारको रक्षा गर्न सकिने भएकाले महिला स्वयंले आफ्नो अस्तित्व के हो भन्ने थाहा पाउनुपर्ने उनको सुझाव छ।

‘हामीमा लड्न सक्ने क्षमता हुनुपर्छ’, रिजाल भन्छिन्, ‘३३ प्रतिशत भनिएको ठाउँमा ५१ प्रतिशत हुनुपर्छ। आफ्नो अधिकार लिन अरू कसैलाई पनि आक्षेप लगाउने काम नगरौँ। पहिलेको जस्तो अवस्था छैन’ महिला अधिकारका कुरा गरिरहँदा पुरुषलाई टाढा सोच्ने प्रवृत्ति पनि गलत हुने उनको तर्क छ। 

महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भएकाले पुरुषको अभावमा महिला अधिकारको पनि रक्षा नहुने रिजालले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.