|

गौर : रौतहटको वृन्दावन नगरपालिकाका कार्यालय सार्ने हल्ला मात्र रहेको नगरप्रमुख विनोदप्रसाद कुर्मीले बताएका छन्। नगरपालिकाका कार्यालय हर्षाहामा सार्न लागेको हल्ला यतिवेला विपक्षीले फैलाइरहेको नगरप्रमुख कुर्मीले बताएका छन्।

वृन्दावन नगरपालिकाका कार्यालय विश्रामपुरमा रहेको र सधैँ विश्रामपुरमै रहने उनले बताए।

पछिल्लो समय विपक्षीले नगरपालिकामा विवादसँगै विभिन्न किसिमका आधारबिनाका अफवाह समेत फैलाउन थालेको नगरप्रमुख कुर्मीको भनाइ छ।

नगरपालिकाका कार्यालय हर्षाहा सारेको, नगरपालिकाका कामकाज हर्षाहामा हुने जस्ता आधारहीन कुरा गरेर नगरवासीलाई भ्रममा पार्न खोजेको कुर्मीले बताएका छन्।​

नगरप्रमुख कुर्मीले भने, ‘आइतबारबाट नियमित कामकाज वृन्दावन नगरपालिकाका कार्यालय विश्रामपुरबाटै हुन्छ।’ बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पूर्ण कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतसहित आफू पनि नियमित सेवा दिने बताएका छन्।

समयमा कार्यालय नआउने कर्मचारीलाई कारबाही समेत गर्ने उनले बताए। कार्यालय कसैले सार्न नसक्ने र कार्यालय सार्न आवश्यक पनि नरहेको उनको भनाइ छ। आफू भ्रष्टाचारमुक्त नगर बनाउने उद्देश्यका साथ अघि बढिरहेका वेला विपक्षीहरू आफूलाई बदनाम गराउन लागिपरेको उनको भनाइ छ।

नगरप्रमुख कुर्मीले समाजिक सञ्जाल फेसबुकमार्फत सेवाकेन्द्र सार्ने झूटो प्रचार फैलाएर वातावारण खलबल्याउने काम बन्द गर्न समेत माग गरेका छन्। यस्ता प्रचारको पछि नलाग्न समेत उनले आम नगरवासीसँग आग्रह गरेका हुन्।

केही महिनादेखि वृन्दावन नगरपालिकाको कार्यालयमा अराजकता फैलाउने‚ कर्मचारी कुट्ने, जनप्रतिनिधिको ज्यानै लिने धम्की दिने, कार्यालयमा तालाबन्दी गरिने, सेवा प्रवाहमा अवरोध गर्ने जस्ता विभिन्न समस्या सामना गरेको उनको भनाइ छ।

आन्दोलनको नाममा व्यक्तिगत स्वार्थ पूरा गराउन दिनरात बार्गेनिङ गर्नेहरूलाई कुनै वास्ता नगरेपछि उनीहरूले यस्तो अफवाह फैलाएको नगरप्रमुख कुर्मीले बताए।

नेपाल सरकारले तोकिएर पठाएको स्थानमै कार्यालय रहने र केही दिनभित्र ६ करोडको लागतमा वृन्दावन नगरपालिकाको कार्यालयको शिलान्यास हुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.