|

सल्यान : सल्यानको नवविवाहित जोडीले बिहेको खर्च बचाएर विद्यालयलाई सहयोग गरेको छ। कपुरकोट गाउँपालिका–६ निवासी किरणजंग बस्नेतको जोडीले बिहेमा गरिने खर्च कटौती गरी विद्यालयलाई सहयोग गरेको हो।

उक्त जोडीले कपुरकोट गापा–५ रिमस्थित जीवनज्योति नमुना माविलाई पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी उक्त रकम सहयोग गरेको हो।

उक्त रकमबाट प्राप्त ब्याजद्वारा विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिका, जेहेन्दार तथा गरिब छात्रछात्रालाई सहयोग गरिने बस्नेतले बताए। बस्नेत जीवनज्योति नमुना मावि रिममा कृषि धार ल्याब प्राविधिक पदमा कार्यरत छन्।

एक सचेत युवाले आजको जमानामा भड्किलो विवाह गरेर रुपैयाँ दुरुपयोग गर्न नहुने भन्दै उदाहरणीय कामको सुरुवातका लागि थोरै भए पनि उक्त रकम शिक्षा क्षेत्रमा सहयोग गरेको उनको भनाइ छ।

यस्तै विद्यालयका शिक्षक अभिभावक संघका सदस्य हरिबहादुर दमाईंले स्वर्गीय बुवाआमाको सम्झनामा रु. पच्चीस हजारको अक्षकोष स्थापना गरेका छन्। 

उनले बुवाको सम्झना स्वरूप अक्षयकोष स्थापना गरी उक्त रकमको प्राप्त ब्याजबाट वार्षिक उक्त विद्यालयमा अध्ययनरत टुहुरा, अनाथ, गरिब विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.