|

पर्वत : अनिच्छित गर्भधारण रोक्न अचेल विभिन्न उपाय छन्। अनिच्छित गर्भधारण हुन नदिनका लागि अपनाउन सकिने उपायबारेमा आधारभूत तहको शिक्षा (कक्षा ६–८) को स्वास्थ्य विषयमा पढाइ हुन्छ। गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा गम्भीर असरहरू देखा पर्न सक्छन् भन्ने पनि सबैलाई थाहा छ।

तर पर्वतमा गर्भपतनको तथ्यांक हेर्दा भने न त पाठ्यक्रममा समावेश विषयवस्तुले काम गरेको देखिन्छ न त चिकित्सकको सुझावले नै। जिल्लामा औषधी सेवन गराएर गराइने गर्भपतन सेवा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाले पनि दिँदै आइरहेका छन्। गर्भपतनको दर र सुत्केरी हुने दरबीच तुलना गर्नका लागि पर्वत अस्पताल र मेरी स्वास्थ्य सेवा क्लिनिकबाट लिएको तथ्यांकले मात्रै यो देखाएको छ, २०० महिला सुत्केरी हुँदा ३०० महिलाले गर्भपतन गराएका छन्। कुल पाँच सय जना महिला/किशोरीमा आधार भन्दा दुई भाग महिला सुत्केरी हुँदा तीन भाग महिलाहरूले गर्भपतन गराइरहेका छन्।

मापदण्ड पूरा गरेर सरकारबाट मान्यता पाएर गर्भपतन सेवा प्रदान गर्दै आइरहेको मेरी स्वास्थ्य सेवा क्लिनिकबाट चालु आर्थिक वर्षको पुससम्मका छ महिनामा मात्रै एक सय ६४ जना महिलाहरूले गर्भपतन गराएका छन्। क्लिनिकको तथ्यांक अनुसार साउनमा ३१, भदौमा २९, असोजमा १७, कात्तिकमा २१, मङ्सिरमा ३६ र पुसमा ३० जनाले गर्भपतन गराएका छन्। साउनदेखि पुससम्मको तथ्यांकअनुसार पर्वत अस्पतालबाट छ महिनामा कुल १०६ जनाले गर्भपतन सेवा लिएका छन्। साउनमा १८, भदौमा १५, असोजमा १०, कात्तिकमा २४, मंसिरमा २८ र पुसमा ११ जनाले सेवा लिएका हुन्। 

सोही अवधिमा पर्वतमा अस्पतालमा १९१ महिलाले बच्चा जन्माएका छन्। उनीहरू साउनमा ४१, भदौमा ३०, असोजमा ३६, कात्तिकमा ३२, मङ्सिरमा २७ र पुसमा २५ जना रहेका छन्। जिल्लामा गर्भपतनको वैध सेवा दिने मुख्य सेवा प्रदायक  पर्वत अस्पताल र मेरी स्वास्थ्य सेवा क्लिनिक हुन्। ग्रामीण क्षेत्रमा रहेका केही स्वास्थ्य संस्थाले पनि सरकारबाट अनुमति पाएर यो सेवा प्रदान गर्दै आइरहेका छन्। तिनीहरूले प्रदान गरेको सेवा यसमा जोडिएको छैन। 

वैध रूपमा दुई संस्थामा देखिएको तथ्यांकबाहेक अवैध रूपमा गरिने गर्भपतन र लाज लुकाउनको लागि सदरमुकाम कुश्मा बाहेक नजिकका दुई शहरहरू पोखरा र बागलुङ पुगेर गर्भपतन सेवा लिनेहरूको संख्या त यकिन नै छैन। औषधी पसलबाट गर्भपतनको औषधि किनेर आफ्नै तरिकाले गर्भपतन गर्नेहरूको संख्या त अनुमान गर्न नै गाह्रो छ।

जिल्लामा रहेको वैध स्वास्थ्य संस्थामा पुगेर गर्भपतन सेवा लिँदा चिनेका स्वास्थ्यकर्मी वा कोही चिनेका व्यक्तिहरू अस्पतालमा भेटिन सक्ने र उनीहरूले गर्भपतनको बारेमा थाहा पाउन सक्ने भयले औषधी पसलबाट आफैले गर्भपतनका औषधि किन्ने तथा जिल्ला बाहिर गएर सेवा लिनेहरूको संख्या समेत यकिन हुने हो भने सुत्केरी हुनेको तुलनामा चार गुना बढी महिलाले गर्भपतन गराएको हुन सक्ने सरोकारवालाको अनुमान छ। 

गर्भनिरोधक साधनको प्रयोग नगरी गर्भपतनको बाटो रोजिरहेका किशोरी वा महिलाहरूले आफ्नै भविष्यमाथि खेलबाड गरिरहेको पर्वत अस्पतालका सूचना अधिकारी लक्ष्मण आचार्य बताउँछन्। ‘असुरक्षित गर्भपतन गर्दा गर्भपतन पूर्णरूपमा नभई बढी रगत बग्ने, पाठेघरमा संक्रमण हुने र कतिपय अवस्थामा मृत्यु नै हुने अवस्था आउन सक्छन्’, उनी भन्छन्, ‘दीर्घकालीन असरका रूपमा तल्लो पेट दुखिरहने, बाँझोपन, पाठेघर नै फाल्नुपर्ने अवस्था लगायतका समस्या आउँछन्। गर्भ निरोधका अस्थायी साधन सहजै पाउने अवस्थामा पनि प्रयोग नगरेर जोखिम मोल्नेहरूको यो तथ्यांकले हाम्रो समाज कुन बाटोमा जाँदै छ भन्ने देखिएको छ।’ 

असुरक्षित रूपमा गर्भपतन गर्दा महिलाको ज्यान खतरामा पर्ने भएकाले सरकारले तोकेको स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीले मात्रै गर्भ पतन गराउन पाउँछन्। नौ हप्तासम्मको गर्भलाई औषधीको प्रयोगबाट सुरक्षित तरिकाले गर्भपतन गराउन पाइन्छ भने १२ हप्तासम्मको गर्भलाई उपकरणको प्रयोगबाट पतन गराउन पाइन्छ। पर्वत अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार छ महिनाको अवधिमा पर्वत अस्पतालमा गरिएका एक सय छ वटा मध्ये ८४ वटा औषधिको प्रयोग गरेर र २२ वटा गर्भपतन ‘सर्जरी’ बाट गरिएका छन्। 

गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलांग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था रहेको छ। त्यस्तै कानूनले भ्रूणको लिंग पहिचान गरी गरिने गर्भपतनलाई पनि अपराध मानेको छ।

‘गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलांग बच्चा जन्मिन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने’ व्यवस्थाको फाइदा उठाउँदै यौन सम्बन्धमा गर्ने लापरबाहीको नतिजाका रूपमा गर्भपतनलाई लिएको देखिएको छ। पर्वत अस्पतालले गर्भमा रहेको बच्चाको लिंग पहिचान नगरिदिने भएकाले यो सेवा लिने र पहिचान गरेर भ्रूणहत्या गर्नका लागि पोखरासम्म पुग्नेहरूको संख्या अनुमान गर्न सकिने अवस्था छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.