|

पर्वत : प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र द्वन्द्व र क्रान्तिका क्रममा सहादत प्राप्त गर्नेको सूचीमा गण्डकी प्रदेशका झन्डै साढे सात सयजनाको नाम समावेश भएको छ।

सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्नेहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। जसमा ११ जिल्ला रहेको गण्डकी प्रदेशका नौ जिल्लाका ७४४ जनाको नाम उल्लेख छ। समावेश नभएका दुई जिल्लामा मुस्ताङ र मनाङ रहेका छन्। यसले सशस्त्र द्वन्द्वका वेला ती दुई जिल्लामा कसैले पनि मृत्युवरण गर्न नपरेको बुझाएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) दुवै जिल्लाका सहिदको नाम एकै ठाउँमा समावेश गरिएको छ। संघीयता आएसँगै साविकको नवलपरासी जिल्लालाई दुई भागमा बाँडिएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा पर्छ भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहेको छ।

अन्य जिल्लाको तुलनामा साविकको नवलपरासीमा सहिदको सङ्ख्या कम छ। प्रदेशमा सबैभन्दा बढी गोरखामा २१५ जना सहिद बन्दा साविकको नवलपरासीमा ५८ जना सहिद रहेका छन्। यस्तै लमजुङका ९०, तनहुँका ८०, कास्कीका ४८, म्याग्दीका ६४, पर्वतका ४१, स्याङ्जाका ४८ र बागलुङका एक सय जना गरी कुल ७४४ जनाको नाम सहिदका रूपमा सूचीकृत गरेर नेपाल राजपत्रमा प्रकाशन भएको छ।

गत फागुन १५ को मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले सहिदको सूची राजपत्रमा प्रकाशित गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो। देशभरका जिल्ला प्रशासन कार्यालयहरूबाट अभिलेख सङ्कलन गरी सहिदहरूको सूची सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.